खोटाङ, ३० असार । साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क (उद्यान), सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा वृक्षरोपण कार्य सुरु गरिएको हो ।
गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिको टोलीले विभिन्न प्रजातिका बिरुवा रोप्न थालेका छन् । अभियानको पहिलो दिन सोमबार वडा नं. २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
वातावरणीय रुपमा भूगोल र माटो सुहाउँदो प्रकारका ज्याकारअण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका बिरुवा रोप्न सुरु गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ । यस वर्ष तीन हजार बिरुवा रोप्ने तयारी गरिएको गाउँपालिका जनाएको छ ।
पालिकालाई वातावरणमैत्री बनाउन सबै सामुदायिक विद्यालय, स्वास्थ्यसंस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवा लगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभएको छ । गाउँपालिकाले बिगतका वर्षहरुमा पालिकाभरी करिब दश हजार विभिन्न प्रजातिका बिरुवाहरु रोपेर संरक्षण गर्दै आएको छ ।
गाउँपालिकाले हरेक हप्ताको शुक्रबार सरसफाइ अभियानसमेत सञ्चालन गर्दै आएको छ । पालिकाभित्र पर्ने चोक तथा पार्कहरुमा ख्यातिप्राप्त चित्रकारहरु झिकाएर विभिन्न जातजातिको संस्कार÷संस्कृतिसँग सम्बन्धित चित्रहरु कोरिएका छन् ।


