खोटाङ, ३० असार । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायीलाई सम्मान गरेको छ । सिचाइँ प्रणालीको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सञ्चालित टुकुरेखोला भस्मे दोभान सिचाइँ जल उपभोक्ता समितिका अध्यक्ष कर्ण राय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सञ्चालित डल्ले खोला टारी कुसुङ्खा जल उपभोक्ता समितिका अध्यक्ष कवित राई तथा लक्ष्मी एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.का प्रतिनिधि टीकाराम श्रेष्ठलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित १५७ वटा योजनामध्ये उत्कृष्ट काम गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायी छनोट गरेर उनीहरुलाई सोमबार सम्मान गरिएको डिभिजन प्रमुख डा. महेश यादवले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित १५७ वटा योजनामध्ये समयमै काम सक्ने, गुणस्तरीय तथा मापदण्ड अनुसार काम गर्ने उत्कृष्ट उपभोक्ता समिति र निर्माण व्यवसायी छनोट गरेर सम्मान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा टुकुरे खोला भस्मे दोभान सिचाइँ योजना मर्मतका लागि डिभिजन कार्यालय खोटाङबाट रु ३० लाख वजेट विनियोजन भएको थियो । तोकिएको समयमा सम्पन्न गरेर सञ्चालनमा ल्याइएको सिचाइँ कुलोले याम्खाका स्थानीयको एक हजारभन्दा बढी रोपनी खेतीयोग्य जमिन सिञ्चित भएको समितिका अध्यक्ष रायले बताउनुभएको छ ।
यस्तै, डल्ले खोला टारी कुसु्खा सिचाइँ योजना सञ्चालनका लागि रु ४० लाख बजेट विनियोजन भएको थियो । सिचाइँ कुलेले बुइपाका १५० घर धुरी स्थानीयको खेतीयोग्य जमिनलाई सिञ्चित गरेको समितिका अध्यक्ष राईले बताउनुभएको छ ।
सिचाइँ कुलो सञ्चालन भएपछि तरकारी बाली, फलफूल, धान, मकै, गहुँ लगायतका खाद्यान्न बाली उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् । कार्यालयले आकस्मिक बाढी तथा पहिरो व्यावस्थापन तथा निर्माण कार्य अन्तरगत स्थानीय वासिन्दाका घर तथा सडक जोगाउनका लागि आपतकालीन अवस्थामा समयमै गुणस्तरीय र प्रभावकारी निर्माण कार्य गरेको भन्दै लक्ष्मी एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.लाई सम्मान गरेको हो ।
सम्मानित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र डिभिजन प्रमुख डा.महेश यादवले सम्मानपत्रसहित सम्मान गर्नुभएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन खोटाङका डिभिजन प्रमुख सुमन भट्टराई नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्य, सिनियर इन्जिनियर लोजाङ देण्डुप शेर्पा, लेखा अधिकृत विमल फुयाल लगायतको उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको भौतिक प्रगति ९५ तथा वित्तीय प्रगति ९६ दशमलव तीन प्रतिशत हाँसिल गर्न सफल भएको डिभिजन प्रमुख डा. यादवले जानकारी दिनुभएको छ । यो आर्थिक वर्ष सम्पन्न नभएका योजनाहरुलाई पुनः म्याद थप गरेर अर्को आर्थिक वर्ष निर्माणको काम अगाडि बढाइने कार्यालयले जनाएको छ ।


