खोटाङ, २८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा कृषक धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं. २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन दश वर्षका लागि भाडामा लिएर व्यवसायिक आलु खेती शुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै चार हजार केजी फलाउनुभएको हो ।
बाह्र वर्षअघिदेखि जिल्लामै अर्गानिक तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका धर्मराजले उत्पादन गर्नुभएको आलु प्रति केजी रु ४५ मा बिक्रीसमेत गर्दै आउनुभएको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग १२५ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक आलु खेती शुरु गर्नुभएका धर्मराजले तीनजना युवालाई रोजगारीसमेत दिनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘झिसेपु अर्गानिक कृषि फार्म’ दर्ता गरेर व्यवसायिक कृषि पेसामा लाग्नुभएका धर्मराजले उत्पादन गर्नुभएको आलुमध्ये एक हजार केजी बीउको लागि राखेर बाँकी बिक्री गर्ने तयारी गर्नुभएको छ । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० केजी शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलहरुमा लगेर बिक्री गरिएको धर्मराजले जानकारी दिनुभएको छ ।
आफ्नै व्यक्तिगत लगानीमा व्यवसायिक आलु खेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लाग्नुभएका धर्मराजले पाँचवटा राँगा÷भैँसी पालन गर्नुभएको छ । अर्गानिक आलु उत्पादन गर्ने अभियानमा लाग्नुभएका धर्मराजले त्यही राँगा÷भैँसीको मलमुत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलु खेतीमा लगाउँदै आउनुभएको छ ।
करिब ३०÷४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यवसायिक खेती शुरु गर्नुभएका धर्मराजले गत माघमा ६०० केजी भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोप्नुभएको थियो । कुनाखर्कमा उत्पादित अर्गानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यवसायिक आलु खेती शुरु गरेको धर्मराजले बताउनुभएको छ ।
करिब रु ११ लाख लगानीमा शुरु गर्नुभएको आलु खेतीलाई आगामी वर्षबाट थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताउनुभएको छ । “पहिलो पटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उहाँले भन्नुभयो, “आलुसँगै पशुपालन तथा तरकारी खेतीसमेत गर्ने योजना छ । यसका लागि थप जनशक्तिसमेत खोजि गरिरहेको छु ।”
अर्गानिक कृषि उपज उत्पादन अभियानमा लाग्नुभएका धर्मराजले शुरुमा वडा नं. ३ बाम्राङस्थित झिसेपुमा व्यवसायिकरुपमा अर्गानिक फलफूल तथा तरकारी खेती गर्नुभएको थियो । करिब १५ वर्षदेखि कृषि पेसामा आवद्ध धर्मराजले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यवसायिक खेती गर्दै आउनुभएको छ ।
कृषि पेसालाई आधुनिक तथा यान्त्रीकरण गर्दै व्यवसायिक बनाउने अभियानमा लाग्नुभएका धर्मराजले जिल्लाका अन्य कृषकलाई तालिमसमेत दिँदै आउनुभएको छ । झिसेपुको फार्म सञ्चालनका लागि धर्मराजलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् ।
पछिल्लो समय जिल्लाका अधिकांश कृषकले थोरै समयमा नै धेरै आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।


