नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

Halesi Khabar

खोटाङ, २६ असार । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडाबाट आएका ८४ जना महिला र ७४ जना पुरुषगरी १५८ जना नागरिक लाभान्वित भएका हुन् ।

रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्नेल) केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोली निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको छ । निःशुल्क स्वास्थ्य शिविरका लागि जिल्ला अस्पताल खोटाङले विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी तथा औषधि उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय र नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको थियो ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै बिपन्न समुदायमा जन्मिएका नागरिकलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्खौलेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी लामिछानेले जानकारी दिनुभएको छ । शिविरमा सहभागीमध्ये ६० जना जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल खोटाङ तथा माथिल्लो निकायमा रिफर गरिएको जनाइएको छ ।

नेपाली सेनाको आयोजनामा पहिलो पटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरु हर्षित भएको सेवाग्राहीहरुले बताएका छन् । अर्खौले बजारस्थित स्वास्थ्य चौकीको प्राङ्गणमा बुधबार आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौला, स्वास्थ्य कार्यालय खोटाङका कार्यालय प्रमुख जीवनकुमार चौलागाईँ, वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थिति रहेको थियो ।

रणभीम गण मुडे ब्यारेक खोटाङले यसअघि गत माघ–२० गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । भूतपूर्व सैनिक तथा परिवारका सदस्यलाई लक्षित गरेर बाक्सिला बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरमा १४५ जना नागरिकले निःशुल्क सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया