खोटाङ, २५ असार । नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जिल्ला सभापति राईलाई एक वर्षसम्मका लागि पार्टी सदस्यता नै नरहनेगरी पार्टीबाट निष्कासन गरेको हो ।
वि.सं. २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि जिल्ला सभापति राईलाई कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सभापति राईले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी परेको थियो ।
काँग्रेसले खोटाङ प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’लाई समर्थन गरेको थियो भने, प्रदेशसभाको निर्वाचनमा १ (क)मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा २ (ख)मा काँग्रेसकै भूपेन्द्र राईलाई उम्मेदवार बनाएको थियो । सभापति राईले गठबन्धनका उम्मेदवारहरुलाई हराउन भूमिका खेलेको आरोप थियो ।
प्रतिनिधिसभामा पासाङ र प्रदेशसभा २ (ख)मा भूपेन्द्र निर्वाचित हुँदा अर्का प्रदेशसभा सदस्यका उम्मेदवार वीरबलकाजीलाई हराउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको थियो । प्रदेशसभा १ (क)बाट विजयी पिके अहिले कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री हुनुहुन्छ ।
प्रदेशसभा १ (क)मा सभापति राईले काँग्रेसका धर्मराज पोखरेललाई बागी उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रनुभएको थियो । पार्टी निर्णय बिपरित लाग्नुभएका सभापति राईलाई असार–१७ गते बसेको काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो ।
काँग्रेस केन्द्रीय अनुशासन समितिको कारबाहीमा पर्नुभएका सभापति राईले आफू काँग्रेसको विचारबाट विचलित नभइ पार्टी क्रियाकलापमै सक्रिय रहने बताउनुभएको छ । “वि.सं. २०७९ को निर्वाचनमा काँग्रेस खोटाङलाई केन्द्रले बेवास्ता ग¥यो । हामीले त्यसको बिरोध गरेका हौँ”, उहाँले भन्नुभयो, “पार्टीको पक्षमा काम गर्दा कारबाहीको पत्र आएको छ । त्यसलाई सम्पतीको रुपमा सुरक्षित राखेको छु ।”
काँग्रेस खोटाङका सभापति राईलाई कारबाही गरेको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा व्यापक चर्चा भइरहेको छ । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) खोटाङका सभापतिको जिम्मेवारीसमेत सम्हाली सक्नुभएका सभापति राईमाथि पार्टीले अन्याय गरेको धेरैको प्रतिक्रिया छ ।


