खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन्दा बढी प्रजातिका फूलका बिरुवा हुर्किरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘सहयोगी पुष्प नर्सरी’ नामको फर्म दर्ता गरेर व्यवसायिक पुष्प खेती सुरु गर्नुभएकी सविनाको नर्सरीमा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा छन् । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डल लगायत विभिन्न प्रजातिका फूलका बिरुवा छन् ।
नर्सरीमा उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको सविनाले बताउनुभएको छ । ग्राहकको माग बढ्दै गएपछि करिब रु चार लाख लगानीमा सुरु गरिएको पुष्प व्यवसायलाई यस वर्षबाट थप विस्तार गर्ने तयारीमा रहेको सविनाले बताउनुभएको छ ।
रहरै रहरमा सुरु गरिएको पुष्प खेतीले आम्दानीसमेत दिन थालेपछि थप विस्तार गर्ने तयारीमा रहेको सविनाले बताउनुभएको छ । “मलाई फूलसँग खेल्न रमाईलो लाग्छ । धेरैजसो समय फूलका बगानमै हुन्छु । रहरै रहरमा सुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ”, “पछिल्लो समय फूलका बिरुवा खरिद गर्नका लागि ग्राहकहरु दैनिकजसो आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ ।”
तीनवटा प्लाष्टिक टनेल बनाएर व्यवसायिक फूल खेती सुरु गर्नुभएकी सविनालाई उहाँका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आउनुभएको छ । सविनाको नर्सरीमा हुर्किएका फूलका बिरुवा जिल्लाका दशवटै स्थानीय तह तथा स्थानीयवासीका साथै जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।
आधिकारिक रुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती सुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताउनुभएको छ । दुई वर्षअघि ईलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मदर प्लान्ट (मूल बोट)को रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरिएको सविनाले जानकारी दिनुभएको छ ।
सविनाको नर्सरीमा उत्पादन भएका फूलका बिरुवा जिल्लामा हुने कार्यक्रममा सहभागी हुन आउने अतिथिहरुलाई उपहारसमेत दिने गरिएको छ । पछिल्लो समय जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पक्की घरहरु धमाधम बनिरहेकाले पनि ती घरहरुमा सजाउनका लागि स्थानीयवासीले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको हो ।
सविनाको नर्सरीमा उत्पादन भएका फूलका बिरुवा ग्राहकहरुले गमल तथा पोलेथिन प्याकेटमा खरिद गरेर लाने गरेका छन् । नर्सरीमा उत्पादित बहुवर्षे फूलका बिरुवाहरु बिक्रीबाट आएको आम्दानीले छोराको पढाइ तथा घर खर्च गरेर रहेको रकम बचतसमेत गर्ने गरिएको सविनाले बताउनुभएको छ ।


