खोटाङ, २२ असार । जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तारगरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ–१२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णया गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।
अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गर्नुपर्ने बाध्यता सिर्जना भएको मन्त्री राईले बताउनुभएको छ । “पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शय्याको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन”, उहाँले भन्नुभयो, “अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । अब बिगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्न सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।”
अस्पताल परिसरमा आयोजना गरिएको ५० शेय्याको सेवा शुभारम्भ एवम् पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणासभालाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिद लगायतका लागि मन्त्रालयबाट पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभएको छ । “मैले नेतृत्व गरेको मन्त्रालयबाट स्वास्थ्य क्षेत्रका लागि खोटाङमा रु १६ करोड बजेट विनियोजन गरिएको छ । निर्माणाधीन अस्पताल भवन सम्पन्न नभएपनि सेवा सुविधा विस्तार गर्नका लागि ५० शय्याको सेवा शुभारम्भ गरेका छौँ” उहाँले भन्नुभयो, “भवन निर्माणको काम पनि अब चाँडै सम्पन्न हुन्छ । त्यसपछि सबै स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ ।”
वि.सं. २०४९ वैशाख–१ गते स्थापना गरिएको अस्पतालमा ५० शय्याको सेवा शुभारम्भ गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउनेगरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईले बताउनुभएको छ । “मन्त्रालयबाट विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा यहीँका स्वास्थ्यकर्मी परिचालन गरेर भिडियो एक्स–रे सेवाबाट ५० शय्याको अस्पतालको सेवा शुभारम्भ गरिएको छ । आगामी दिनमा थप सेवा÷सुविधासमेत विस्तार गर्दै पूर्ण क्षमतामा सञ्चालन लगिनेछ ।”
अस्पताल स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पताल उद्घाटन गरिए पनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ । निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न नभइ ५० शय्याको सेवा शुभारम्भ गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत बिरोध जनाइरहेका छन् ।
अस्पताल भवन निर्माणको ठेक्का रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ । ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्नेगरी वि.सं. २०७८ असार–२४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो ।
निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ । ठेकेदारसँग सम्झौता गरिएअनुसार वि.सं. २०८० पुस–२४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म रहेको छ ।
भवन निर्माणको काम नसकिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले निर्माण सम्बद्ध ठेकेदार कम्पनीहरूलाई ताकेता गरिरहेका छन् । ठेकेदारको ताकेतापछि आगामी मङ्सिरभित्र सक्नेगरी कार्यतालिका बनाएर अस्पताल व्यवस्थापन समितिलाई बुझाएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
निर्माणाधीन जिल्ला अस्पतालको भवन तोकिएकै मितिमा सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको काम ठेकेदारको लापरबाहीका कारण समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।
निर्माणाधीन अस्पताल भवनको पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूम (कोठा) लगायतका भौतिक संरचना निर्माण गर्ने योजना रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । चारतले आरसीसी पक्की अस्पताल भवनको दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।


