विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

Halesi Khabar

खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो ।

मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचतसमेत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यवसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभएको थियो ।

सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यवसायिक बङ्गुर पालनमा निक्कै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । बङ्गुर पालनबाट करिब रु १८ लाख घाटा व्यहोर्नुभएको छ ।

ठूलो लगानीमा सुरु गर्नुभएका बङ्गुर पालन व्यवसाय छाडेर सरोज पुनः बाख्रा पालनमा लाग्नुभयो । बाख्रा पालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाड्नुभएका सरोजले सम्भावनाका खोजि गर्न भने छाड्नु भएन ।

गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजि गरिरहनुभएका सरोजले छ वर्षअघि एउटा युट्युब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यवसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेर्नुभयो । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहनुभएका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुट खेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिनुभयो ।

तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिदगरी साथमै लिएर आफ्नो घर हौँचुर फर्कनुभयो । घरमा आएर पाखोबारीमा रोप्नुभयो । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रुपमा विकास गर्दै त्यसैबाट वर्षेनी नयाँ बिरुवा उत्पादन गरेर विस्तार गर्नुभयो ।

सुरुमा २५० वटा बिरुवा ल्याएर व्यवसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरु भएको छ ।

तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । वर्षेनी उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रगन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिनुभएको छ ।

एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रति केजी रु ३०० मा बिक्री गर्दा रु छ लाख सङ्कलन भएको सरोजले जानकारी दिनुभएको छ । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहकहरु सरोजको घरैसम्म पुग्ने गरेका छन् ।

ड्रागन फ्रुट खरिदका लागि घरैमा आउने ग्राहकलाई प्रति केजी रु ३०० मा बिक्री गरिरहेको सरोजले जानकारी दिनुभएको छ । “खेती हेर्नकै लागि पनि मानिसहरु फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरु आउँछन्”, उहाँले भन्नुभयो, “ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रति केजी रु ५० सम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।”

ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौँलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताउनुभएको छ । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यवसायिक ड्रागन फ्रुट खेतीमा रमाउनुभएको छ ।

एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आउनुभएको छ । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गर्नुभएका सरोजले वि.सं. २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यवसायिक खेती सुरु गर्नुभएको हो ।

सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुट खेती सुरु गरेको बताउनुभएको छ ।

ड्रागन फ्रुट फूल फुलेको ३५–४५ औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा दश र १५ दिनसम्म नबिग्रिने सरोजले जानकारी दिनुभएको छ । सरोजले ड्रागन फ्रुट खेतीका लागि मात्र रु १८ लाख लगानी गरिसक्नुभएको जनाइएको छ ।

व्यवसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा सरोजको जोड छ । सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ ।

सरोजले सुरु गर्नुभएको व्यवसायिक कृषि फार्ममा ड्रागन फ्रुटसँगै आँप, कागती र केराको व्यवसायिक खेती गर्नुका साथै मौरीसमेत पालन गर्नुभएको छ । सरोजको फार्ममा लगाइएका ड्रागन फ्रुट, केरा र मौरीले उत्पादन दिन थालेपनि आँप र कागतीका बिरुवा भने भर्खर हुर्कँदै गरेका छन् ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइ बाहेक अन्य केही गर्नु नपर्ने र रोपेको २०÷२५ वर्षसम्म लगातार फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने सरोजले बताउनुभएको छ । जेठ अन्तिमदेखि मङ्सिर अन्तिमसम्म फल दिने ड्रागन फ्रुटको एउटै बोटबाट हरेक वर्ष आठ पटकसम्म फल टिप्न मिल्ने सरोजले जानकारी दिनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरेर व्यवसायिक कृषि व्यवसाय सुरु गर्नुभएका सरोजलाई गाउँपालिकाले ड्रागन फ्रुटका लागि पिलर निर्माण तथा टायर खरिदका लागि रु दुई लाख अनदान रकम उपलब्ध गराइएको कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । युवा कृषक सरोजलाई आगामी दिनमासमेत सहयोग गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया