खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ ।
कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख बास्तोलाका अनुसार वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको छ ।
भर्खरै फल्न थालेको लिचीको दुईवटा बिरुवा बोटबाट यस वर्ष रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले जानकारी दिनुभएको छ । “प्रति दाना रु एकमा बिक्री गर्दा यस वर्ष रु ३० हजार आम्दानी भयो । आगामी दिनमा लिचीका थप बिरुवा रोप्ने तयारी गरेको छु”, उहाँले भन्नुभयो, “लिची खेतीका लागि धेरै हेरचाह गर्नुपर्दैन । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले आगामी दिनमा लिचीका थप बिरुवा खरिद गरेर रोप्ने योजना बनाएको छु ।”
कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची रु ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गर्नुभएको जनाइएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको कुभिण्डेमा सबैभन्दा बढी लिची फलाउने कृषक टीकाबहादुर रानामगर रहनुभएको छिमेकीहरुले बताएका छन् ।
रावाबेँसी गाउँपालिकामा उत्पादित लिची जिल्लाका विभिन्न हाटबजार तथा राजधानी काठमाडौँका साथै पूर्वी तराईका विभिन्न जिल्ला नि¥यात हुने गरेको छ । कृषकले उत्पादन गरेका लिची विभिन्न जिल्लाबाट आउने ठेकेदारहरुले बोटबाटै प्रति दाना रु एकमा खरिद गर्ने गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभएको छ ।
लिची उत्पादनको केन्द्र रावाबेँसी गाउँपालिकामा यस वर्ष लिची बिक्रीबाट रु ९५ लाख ६८ हजारभन्दा बढी रकम भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । प्रति केजी रु ५२ ले हिसाब गर्दा रु ९५ लाख ६८ हजार बराबरको आम्दानी देखिएको कृषि शाखा प्रमुख बास्तोलाले जानकारी दिनुभएको छ ।
स्थानीय कृषकले गाडी रिजर्भ गरेर दिक्तेल बजार तथा हलेसीमा लगेर प्रति केजी रु १०० मा बिक्री गरेको गर्ने गरेका छन् । लिची बिक्रीबाट यस वर्ष रावाबेँसी गाउँपालिकामा रु एक करोडभन्दा बढी रकम भित्रिएको स्थानीय कृषकहरुले बताएका छन् ।
रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार–१० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिनुभएको छ । “हाग्रो गाउँपालिकाका नागरिकले आफ्नै तवरले लिची उत्पादन तथा बिक्री गरिरहेका छन् । उत्पादित लिचीलाई प्रवद्र्धन गर्न कार्यक्रम बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “अर्को आर्थिक वर्षदेखि कृषकले उत्पादन गरेका लिचीलाई भण्डारण, प्रशोधन तथा बजारीकरण गर्ने योजना बनाएका छौँ । लिचीलाई व्यवस्थित गर्न सकेको खण्डमा गाउँपालिकाका लागि समेत राम्रो आम्दानीको स्रोत बन्ने अपेक्षा गरिएको छ ।”
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो रावाबेँसी गाउँपालिकाले यस आर्थिक वर्ष लिची खेती गर्ने कृषकका लागि सिचाइँ गर्न हिलटेक, गोडमेलका लागि सिकेचर, फल टिप्नका लागि क्यारेट र भ¥याङ वितरण गरेको छ । आगामी वर्ष गाउँपालिकाभित्र पर्ने छवटै वढाका कृषकलाई निःशुल्क वितरणका लागि चार हजारवटा लिचीका बिरुवा उत्पादन गरिएको गाउँपालिकाले जनाएको छ ।
एक पटक रोपिएका बिरुवाले लामो समयसम्म उत्पादन दिइरहने भएकाले जिल्लाका कृषकहरुसमेत लिचीको व्यवसायिक खेतीमा आकर्षित हुन थालेका छन् । लिची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले कृषकलाई लिचीका बिरुवा उत्पादन तथा खरिद गरेर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहमा लिची उत्पादन हुने गरेका छन् । जिल्लामा उत्पादित लिची स्वादियो र ठूलो दाना भएकाले स्थानीय हाटबजार तथा राजधानी काठमाडौँ लगायतका शहरमा खोजि हुने गरेको कृषकहरुले कताएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा उत्पादिन लिची बिक्रीबाट कृषकले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले जानकारी दिनुभएको छ । जिल्लामा यस वर्ष बिगत वर्षहरको भन्दा लिची उत्पादन वृद्धि भए पनि सबै पालिकाबाट यकिन तथ्याङ्क आउन बाँकी रहेकाले कति उत्पादन भयो भन्ने जानकारी दिन नसकिने ज्ञान केन्द्रले जनाएको छ ।
लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवद्र्धनमा चासो नदिएको किसानको गुनासो छ । आफूहरुले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानहरुको माग छ ।


