हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका

Halesi Khabar

खोटाङ, १६ असार । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १८४ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएपछि सोमबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगायतले दीगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएसँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाको प्रमाणपत्र नगरप्रमुख विमला राईलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेशकुमार तामाङ, नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, सशस्त्र बल हलेसी गुल्मका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापामगर, प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको उपस्थित रहेको थियोे । नगरप्रमुख राईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको विभिन्न चरणको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि नौँवटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिसकिएको थियो । हलेसी तुवाचुङ नगरपालिकालाई सोमबार घोषणा गरिएसँगै जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएसँगै यही असार–२२ गते जिल्ला घोषणा गर्ने तयारी गरिएको खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख राईले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने तयारी गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्था लगायतलाई सम्मानसमेत गर्ने तयारी गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना बालबालिकाले नियमित तथा १६ देखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालमा लागू गरिएको खोप कार्यक्रमबाट कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

 

तपाईको प्रतिक्रिया