एसइईमा खोटाङका पाँच माविको नतिजा शून्य, पाँचवटासम्म विषयमा विद्यार्थी अनुत्तिर्ण

Halesi Khabar

खोटाङ, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका पाँच विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेको को नतिजा शून्य आएको हो ।

राधाकृष्ण मावि र जालपा माविबाट १७÷१७, जनता माविबाट आठ, याङ्सोला माविबाट छ र शान्तोदय माविबाट पाँचजना विद्यार्थीले एसइई दिएका थिए । शून्य नतिजा आएका विद्यालयका केही विद्यार्थीलाई पाँचवटासम्म विषय लागेको पाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।

एसइईमा विद्यालयले शून्य नतिजा ल्याएपछि व्यवस्थापन समिति र शिक्षकहरुको चर्को आलोचना भइरहेको छ । सरकारी तलबभत्ता खाएका शिक्षकहरुले आफू राजनीतिमा लागेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अभिभावकहरुले शिक्षकमाथि आक्रोश पोखिरहेका छन् ।

एसइईमा शून्य नतिजा ल्याएका विद्यालयका अधिकांश प्रधानाध्यापक तथा शिक्षकहरु राजनीतिमा सक्रिया रहेको जनाइएको छ । शिक्षकहरुले राजनीतिप्रति आस्था राखेपनि सङ्गठित हुन नहुने शैक्षिक अभियान्ताहरुले बताएका छन् ।

शिक्षकहरुले राजनीतिबाट टाढा रहेर प्रविधिमा आधारित शिक्षण प्रणाली लागू नगरेसम्म शैक्षिक गुणस्तर सुधार सम्भव नहुने शैक्षिक अभियान्ता सूर्यबहादुर राईले बताउनुभएको छ । “हाम्रा विद्यालयहरुमा अझै पनि घोकन्ते विद्या यथावत छन् । जसले बढी कण्ठ गर्न लगायो उसको विद्यालयले केही विद्यार्थी उत्तिर्ण गराएका छन्”, उहाँले भन्नुभयो, “अबको शिक्षण प्रणाली प्रविधिसँग जोडिन आवश्यक छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षकहरु राजनीतिबाट टाढा रहेर आफ्नो पेसाप्रति बफादार हुनुपदर्छ ।”

राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजाअनसार जिल्लाका सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका छात्र अनुपम आचार्य र जोनिम गुरुङ समान ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् । सोही विद्यालयकी एलिसा बास्तोलाले ३.७६ जिपिए ल्याएर दोस्रो भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।

संस्थागत विद्यालयतर्फ दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका एलिहाङ राई जिल्ला प्रथम भएका छन् । एलिहाङले सबैभन्दा उच्चतम् ३.८५ जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।

वि.सं. २०८१ को एसइईमा खोटाङका ५४ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । साधारण तथा प्राविधिकधारगरी जिल्लाका दुई हजार ६५८ जनाले एसइई दिएकामा एक हजार ४६१ जनाले उत्तिर्ण गरेका हुन् ।

एसइईमा सहभागीमध्ये एक हजार १९७ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा ९९ वटा सामुदायिक तथा चारवटा संस्थागतगरी १०३ वटा माध्यमिक तहका विद्यालय सञ्चालनमा रहेका छन् ।

यद्यपि, गत वर्षको तुलनामा यस वर्ष एसइईको नतिजामा सुधार आएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । गत वर्षको एसइईमा जिल्लाका नौँवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो ।

वि.सं. २०८० सालमा भएको एसइई परीक्षामा जिल्लाका दुई हजार ७६९ जना विद्यार्थी सभागी भएकामा एक हजार ४१५ जनामात्रै उत्तिर्ण भएका थिए । प्रतिशतको हिसाबमा गत वर्ष ५१ दशमलव ११ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।

 

 

तपाईको प्रतिक्रिया