खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङलाई यही असार–२२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना बालबालिकाले नियमित तथा १६ देखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको हो ।
जिल्लाका नौँ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिसकिएको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकालाई भोलि (असार–१६ गते) घोषणा गर्ने तयारी गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्था लगायतलाई सम्मानसमेत गर्ने तयारी गरिएको जनाइएको छ ।
कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने÷गराउने, खोप कार्यक्रममा कसैलाई पनि नछुटाउने तथा छुट्न नदिने र नेपाल सरकारको खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयक्त हस्ताक्षरसमेत गर्ने गरिएको छ ।
खोप अभियानका क्रममा खोप लगाउन शुरु गरेर बीचमा छाडेका पाँच जना बालबालिकालाई समेत पूर्ण खोप उपलब्ध गराइएको स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
वि.सं. २०७४ पुस–१४ गते खोटाङ जिल्लालाई ३१ औँ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यसैबीच, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले यही असार–२२ गते जिल्ला अस्पताल खोटाङमा ५० शय्याको सेवा शुभारम्भ गर्ने निर्णय गरेको छ । वि.सं. २०४९ वैशाख–१ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नतिको स्वीकृति पाएको महिना दिनपछि सेवा शुभारम्भ गर्ने निर्णय गरिएको हो ।
स्थापना भएको ३३ वर्षपछि ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भवन निर्माण भइरहेको छ । समितिले निर्माण कम्पनीका प्रतिनिधिहरुलाई बैठकमा झिकाएर तत्काल अस्पताल भवनको काम सम्पन्न गर्न आग्रह गरेको छ ।
निर्माणाधीन अवस्थाका अस्पताल भवनको काम सम्पन्न नभइ सेवा विस्तार गर्दा थप समस्या हुने जिल्लावासीले बताएका छन् । बैठकमा सहभागी निर्माण व्यवसायीले तोकिएको समयमा सम्पन्न गर्नेगरी काम गरिरहेको बताएका छन् ।


