खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् ।
धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो ।
वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभागिता बढी देखिएको थियो ।
दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट किसान महासङ्ंघ खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी जीवनाथ आचार्यको खेतमा रोपाइँ गरेको छ । वडा नं.–८ का अध्यक्षसमेत रहनुभएको महासङ्घका अध्यक्ष लीलाकुमार चौहानको संयोजनमा करिब १० पाथी बराबरको बीउ रोपिएको एमाले जिल्ला सदस्य टंक आचार्यले जनाउनुभयो ।
किसान महासङ्घले आयोजना गरेको रोपाइँमा नेकपा एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष गोपाल आचार्य, नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रिजाल लगायतको सहभागिता रहेको थियो । राजनीतिक दलका भातृ सङ्गठनहरुले जिल्लाका विभिन्न स्थानीय तहमा समेत धान दिवस मनाएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र खोटाङको आयोजनामा दिक्तेलको दिक्तेलबारीस्थित युवा वर्षा आधारभूत विद्यालय नजिकै रहेको ‘डबल ए कृषि तथा पशुपालन फर्म’मा रोपाइँ गरिएकोे छ । फर्मकै समन्वय तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा रोपाइँ गरिएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलब ४० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिन्छ । असार–१५ गतेसम्ममा ४० दशमलब २६ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी बिकास अधिकारी रवीन राईले जानकारी दिनुभएको छ ।


