खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर खोप अभियान शुरु

Halesi Khabar

खोटाङ, १५ असार । खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर डोजको खोप अभियान शुरुवात गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियान आइतबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतलाई खोप लगाएर शुरुवात गरिएको हो ।

पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका सबै वडाका लागि खोप अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । दुवै नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई खोप केन्द्र निर्धारण गरेर शुरुवात गरिएको पहिलो चरणको बुस्टर फायजर खोप अभियान यही असार–१९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अभियानका क्रममा यसअघि खोप लगाएको वर्ष दिन नाघेका तथा १२ वर्षमाथिका सबै व्यक्तिलाई बुस्टर फायजर डोजको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । पाँच दिनसम्म सञ्चालन हुने खोप अभियानका लागि ३० जना स्वास्थ्यकर्मी र ६० जना महिला स्वास्थ्य स्वयम्सेवीका परिचालन गरिएको जनाइएको छ ।

पहिलो चरणको अभियानका लागि २० हजार जोड बुस्टर फायजर खोप उपलब्ध रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्नेगरी आवश्यक खोपको मात्रा मगाइएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

यसैबीच, फ्रन्ट लाइन (अग्रभागमा)मा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई पहिलो चरणको अभियानकै क्रममा बुस्टर डोजको खोप उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ । सुरक्षाकर्मी र पत्रकारको कार्यालयमै तथा कर्मचारीहरुलाई सम्बन्धित खोप केन्द्रमा बुस्टर फायजर खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया