हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँग सहकार्य गर्ने समझदारी

Halesi Khabar

खोटाङ, १४ असार । हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल (विद्यालय) र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र फाउन्डेसनसँग तीन वर्षसम्म सहकार्य गर्ने समझदारी भएको हो ।

स्कूल र फाउन्डेसले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणको तालिम उपलब्ध गराउने त्रिपक्षीय समझदारीपत्रमा उल्लेख छ । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

त्रिपक्षीय समझदारीअनुसार तीन वर्षको अवधिमा रु एक करोड २९ लाख ८२ हजार ८८० को शैक्षिक कार्यक्रम सञ्चालन हुने उल्लेख छ । पहिलो वर्ष रु ७३ लाख ५४ हजार ९८०, दोस्रो वर्ष रु २६ लाख ९६ हजार ५२० र तेस्रो वर्ष रु २९ लाख ३१ लाख ३८० बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

शैक्षिक गुणस्तर सुधारमा सझेदारी गर्ने विषयमा नगरप्रमुख राई, रातो बङ्गला स्कूलका निर्देशक शान्ता दीक्षित र फाउन्डेसनका टिम लिडर (टोली प्रमुख) एलिना रञ्जितले समझदारीपत्र हस्ताक्षर गर्नुभएको छ । त्रिपक्षीय समझदारीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, रातो बङ्गला कार्यक्रम संयोजक अर्चना जोशी, रातो बङ्गला फाउन्डेसनका लेखा प्रमुख हरिप्रसाद पुडासैनी र हलेसी तुवाचुङ नगरपालिका–५ का वडाध्यक्ष रुपेन्द्रकुमार राई साक्षी बस्नुभएको छ ।

नगरपालिकाको शैक्षिक गणस्तर सुधारमा रातो बङ्गला फउन्डेससँग सहकार्य गरिएसँगै शिक्षा क्षेत्रमा थप नयाँ आयाम थपिएको नगरप्रमुख राईले जानकारी दिनुभएको छ । “हामी शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिपरेका छौँ । पछिल्लो समय केही अनुभव गर्न सकिनेगरी सुधार पनि हुन थालेका छन्”, उहाँले भन्नुभयो, “तीन वर्षका लागि रातो बङ्गला फउन्डेससँग सहकार्य गर्ने अवसर पाएका छौँ । यसले शैक्षिक गणस्तर सुधारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीसमेत रहेको यो नगरपालिकाले यसअघिबाटै सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सञ्चालन गर्दै आएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कक्षा–८ को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई)जस्तैगरी सञ्चालन, धुलोरहित कक्षाकोठा निर्माण, शिक्षकका लागि आवश्यक तालिम तथा प्रशिक्षण, समय–समयमा शैक्षिक उत्प्रेरक झिकाएर उत्प्रेरणा प्रदान लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दश बुँदे घोषणापत्रसमेत जारी गरेर कार्यान्वयनमा ल्याइएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवद्र्धन गर्न नगरपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा प्रधानाध्यापक र विद्यालय कर्मचारीबिच कार्यसम्पादन करार सम्झौता गर्ने र विद्यालयमा कार्यरत सबैको कार्यविवरण सबैले देख्ने ठाउँमा राख्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र कर्मचारीले सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउन सार्वजनिक पद धारण गरेका व्यक्तिले ‘मेरो विद्यालय म आफैँ बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रका सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । कक्षा ११ र १२ का विधार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार बुक फ्री डे कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने तथा ‘गुणस्तरीय शिक्षा समृद्ध हलेसी ः हामी सबैको जिम्मेवारी’लाई आत्मसात् गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा उल्लेखित बुँदालाई स्वेच्छिक रूपमा पालना गर्दै कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकका विभिन्न पेसागत संघ तथा सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगरभित्रका ९० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षक, कर्मचारीले सहीछाप गरेका छन् । चौधवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको यो नगरपालिकाबाट यस वर्षको एसइई परीक्षामा ५४ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया