खोटाङ, १४ असार । खोटेहाङ गाउँपालिकाले द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट मारिएका शहीदहरुलाई सम्झना गर्दै उनीहरूका परिवारलाई सम्मान गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दशवर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने खोटेहाङ गाउँपालिकाका ११ शहीद परिवारसहित द्वन्द्वपीडित, घाइते अपाङ्ग तथा बेपत्ता परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको आयोजना तथा खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भान्सामा प्रयोग गरिने विद्युतीय चुल्हो प्रदान गरिएको छ । सम्मान कार्यक्रमले द्वन्द्वकालीन घटनाहरूको स्मरणका साथै शहीद परिवारहरूप्रति संम्मान व्यक्त गरेको प्रतिष्ठानले जनाएको छ ।
जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटेहाङका नौँजनामध्ये सात परिवार र विद्रोही पक्षको एम्बुस तथा दोहोरो भिडन्तमा परि ज्यान गुमाएका चार शहीद परिवारलाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको छ । तत्कालीन समयका छजना द्वन्द्वपीडित परिवार, दुईजना जनयुद्धका घाइते योद्धा र एकजना बेपत्तागरी २० परिवारलाई विद्युतीय चुल्हो प्रदान गरिएको दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानका महासचिव कृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।
सम्मान तथा उपकरण वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले शहीदहरू कुनै पक्षको नभइ तत्कालीन समयमा शहीदहरूले आफ्नो जीवन उत्सर्ग गरेकै कारण आजको परिवर्तन संम्भव भएको बताउनुभयो । शहीदहरूको बलिदानलाई राष्ट्रिय गौरव मानेर शहीद परिवारलाई सम्मान गर्नु राज्यको दायित्व रहेको बताउनुभयो ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका उपप्रमुख रुपेश राईले द्वन्द्वकालमा ज्यान गुमाएका शहीदहरूप्रति दुःख व्यक्त गर्दै ती परिवारका सदस्हरूप्रति समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयलले शहीदहरूको सम्मानका लागि गाउँपालिकाले गरेको सानो प्रयास भएपनि ठूलो महत्व रहेको बताउनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुरेशकुमार राईको अध्यक्षतामा आयोजित दुई चरणमा शहीद, द्वन्द्वपीडित, बेपत्ता, घाइते तथा अपाङ्ग परिवारसँग सम्मिलन एवम् शहीद परिवारलाई सम्मान र विद्युतीय चुल्हो वितरण कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको शहीद परिवार, द्वन्द्वपीडित, बेपत्ता, घाइते तथा अपाङ्ग पारिएका परिवारका सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।


