सुनकोशी आसपासका स्थानीयवासीलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

Halesi Khabar

खोटाङ, ६ असार । सुनकोशीमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले आसपासका स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । भोलि असार–७ गतेसम्म चिनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीमा समेत आउने भएकाले आसपासका स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो ।

सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चिनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गर्नुभएको सूचनाका बारेमा सम्बन्धित स्थानीय तहलाई समेत जानकारी गराइएको प्रशासनले जनाएको छ । गत वर्षको असाज–१२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीयवासी विस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया