खोटाङ, ६ असार । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङमा रु ८२ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा एक वर्षे तथा बहुवर्षेगरी १५१ वटा योजना सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको हो ।
जिल्लाका आवश्यकता तथा स्थानीय नागरिकको मागलाई सम्बोधन गर्नेगरी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा १५१ वटा समेटिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम् रु सात लाखदेखि रु दश करोडसम्मका १५१ वटा योजनाका लागि बजेट विनियोजन गरेको हो ।
नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री एवम् कोशी प्रदेश सरकारका स्वास्थ्यसमेत रहनुभएका मन्त्री राईको पहलमा खोटाङमा भौतिक पूर्वाधार, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन लगायत विभिन्न क्षेत्रमागरि यस वर्ष रु एक अर्बभन्दा बढीको बजेट विनियोजन भएको जनाइएको छ । आवश्यक बजेट अभावका कारण पूर्वाधार विकासमा पछाडि परेको खोटाङमा यति धेरै योजनाका लागि बजेट आएको पहिलो पटक हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो पटक यति धेरै योजनाका लागि बजेट परेपछि खोटाङवासीले योजनाको विवरण सामाजिक सञ्जालमा लगाएर मन्त्री राईलाई धन्यवाद दिँदै खुशी व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जिल्लामा आएका बजेटलाई पारर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन् ।
खोटाङ प्रदेशसभा १ (ख)बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गर्नुभएको सचिवालयको दाबी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार जिल्लामा आएको योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि रु दश करोड बजेट उपलब्ध भएको छ ।
पूर्वी नेपालको १४ जिल्ला समेटिएको कोशी प्रदेश सरकारबाट पारित गरिएको सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्नका लागि खोटाङमा रु दश लाख बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि असार–१ गते रु ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेपनि जिल्लागत बजेट भने, बिहीबारमात्र सार्वजनिक गरेको हो ।


