शुद्धीकरण गरेको पानी उपभोग गराउन पिपचाहीका नागरिकलाई ‘बायो स्याण्ड फिल्टर’

Halesi Khabar

खोटाङ, १ असार । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन ‘बायो स्याण्ड फिल्टर’ प्रदान गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा पिपचाहीका नागरिकलाई दूषित पानी पिउनुपर्ने बाध्य भएकाले शुद्धीकरण गरेर सफा पानी उपभोग गराउन एक÷एकवटा ‘बायो स्याण्ड फिल्टर’ प्रदान गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा पिपचाहीमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी बायो स्याण्ड फिल्टर निःशुल्क वितरण गरिएको च्यास्मिटारका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभएको छ । नगरपालिकाले बायो स्याण्ड फिल्टर उपलब्ध गराएसँगै पिपचाहीका २६ घर नागरिकले अब प्रशोधन गरिएको शुद्ध पानी पिउन पाउने भएका छन् ।

पिपचाही गाउँभन्दा करिब ८०० मिटर टाढा पर्ने धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि शुद्धीकरणका लागि नगरपालिकासँग फिल्टर माग गरिएको स्थानीयवासी एवम् च्यास्मिटार माविका शिक्षक तेजकुमार राईले जानकारी दिनुभएको छ । धामी खोलाको पानी ल्याएर वि.सं. २०४० सालमा निर्माण गरिएको सानो ट्याङ्कीमा जम्मा गरेर गाउँलेले पानी प्रयोग गर्दै आएका छन् ।

खोलामा बगेको पानी अत्यन्तै दूषित रहेको पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “खोलाको पानी अत्यन्तै दूषित छ । तर, विद्यालयसहित पिपचाहीका सबै स्थानीयले त्यही दूषित पानी पिउनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “दूषित पानी उपभोगले गर्दा स्थानीयलाई विभिन्न प्रकारका रोगहरुसमेत लाग्ने गरेको थियो । नगरपालिकाको तर्फबाट हरेक घरमा फिल्टर उपलब्ध गराएका छौँ । अब कम्तिमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।”

पिपचाहीमा रहेको बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ । नगरप्रमुख राई, उपप्रमुख रमेशकुमार राउत, च्यास्मिटारका वडाध्यक्ष राई लगायतको उपस्थितिमा शनिबार विद्यालयमा जडान गरिएको प्रशोधित पानी पिउँदै गाउँभरिका सबै घरका लागि फिल्टर वितरण गरिएको हो ।

च्यास्मिटार माध्यमिक विद्यालयमा अघिल्लो वर्ष सोही प्रकारको फिल्टर जडान गरेर आकाशे पानी जम्मा गर्दै पिउन योग्य बनाइएको छ । उक्त प्रविधि उचित देखिएपछि पिपचाहीका नागरिकलाई समेत सोही प्रविधि प्रयोग गरेर शुद्ध पानी उपभोग गराउनेगरी हरेक घरलाई एक÷एकवटा फिल्टर प्रदान गरिएको उपप्रमुख राउतले जानकारी दिनुभएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने च्यास्मिटार पिपचाहीका नागरिकलाई वितरण गरिएको फिल्टरले एक घण्टामा दश लिटरसम्म पानी प्रशोधन गर्ने जनाइएको छ । एक घरका दश जनासम्मको परिवारलाई पिउन र खाना पकाउन उक्त फिल्टरले प्रशोधन गरेको पानीले पुग्ने वेष्ट पानी कम्पनीका प्राविधिक इन्जिनियर गोकुल दङ्गालले जानकारी दिनुभएको छ ।

पिपचाहीका नारिकलाई निःशुल्क उपलब्ध गराइएको बायो स्याण्ड फिल्टर प्रयोग गरेर करिब २० वर्षसम्म शुद्ध पानी पिउन सक्ने जनाइएको छ । जिल्लाको पश्चिीमी क्षेत्रमा पर्ने यो नगरपालिकामा च्यास्मिटारसँगै सबै वडामा खानेपानीको समस्या छ ।

त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यो हलेसी तुवाचुङ नगरपालिकामा वर्षाद्को पानी सङ्कलन गरेर तथा दूधकोशीको पानी गाग्रोमा बोकेर उपभोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । लामो समयदेखिको खानेपानी समस्या भोग्दै आएका हलेसी क्षेत्रका करिब २० हजार नागरिकको घरमा खानेपानीको धारा उपलब्ध गराउनेगरी शुरु गरिएको बृहत हलेसी लिफ्टिङ खानीपानी आयोजनाको काम शुरु गरिएपनि पूरा हुन सकेको छैन ।

सङ्घीय सरकारको करिब रु एक अर्ब लगानीमा पूरा हुने बृहत हलेसी लिफ्टिङ खानीपानी आयोजना अहिले अलपत्र अवस्थामा छ । हलेसीस्थित भुम्जुडाँडा र काभ्रेमा ट्याङ्की निर्माण गरेर जम्मा गरिएको पानी गाउँमा वितरण गर्ने उद्देश्य राखिए पनि ठेकेदारको चरम लापरबाहीले पूरा हुन नसकेको हो ।

 

 

तपाईको प्रतिक्रिया