साकेला सिली प्रदर्शन गर्दै उँभौली चाडलाई बिदा गरियो

Halesi Khabar

खोटाङ, ३१ जेठ । दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान शनिबार भने, साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्तरुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिकरुपमा मैझारो (समापन) गरिएको छ ।

किराती समुदायले वैशाखे पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली गरी वर्षमा दुई पटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली भन्ने गरिएको हो ।

उँभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्’ जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरुमा पूजाआजा गरेपछि सामुहिकरुपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ ।

उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको किराती पुर्खाहरुले बताउने गरेका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उँधौली मनाउने गरिएको हो ।

साकेला उँभौली–उँधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रुपमा पनि मान्ने गरिएको किरात सेवा समाज खोटाङका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभएको छ । उँभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गा लगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानहरुमा एक महिनासम्म प्रकृतिको पूजागरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

साकेला उँभौली–उँधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभएको छ । “साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा साँस्कृतिक चाड बनेको छ”, उहाँले भन्नुभयो, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख÷सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । त्यसैले साकेला उँभौली–उँधौली चाडलाई किरात समुदायले निक्कै महत्वका साथ मनाउने गरेका छन् ।”

किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख–२९ गते औपचारिकरुपमा शुरुवात गरिएको साकेला उँभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रद्र्धशनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायत सहभागी भएर समुहिकरुपमा साकेला सिली नाचेका थिए ।

छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उँभौली तथा उँधौली चाड मनाउने गरिएको छ ।

हात÷खुट्टाको चालले पङ्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ । साकेला उँभौली तथा उँधौली चाडको अवसरमा किरात समुदायको घनाबस्ती रहेको हरेक गाउँ तथा टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गर्छ ।

साकेला उँभौली तथा उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । यो साकेला उँभौली–उँधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मान्ने गरेका छन् । तस्वीर उपलब्ध छ ।

तपाईको प्रतिक्रिया