करेन्ट लागेर एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

Halesi Khabar

खोटाङ, ३० जेठ । करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारको क्रममा मृत्यु भएको छ । सेगेलेमस्थित आफ्नै घरमा जडान गरिएको विद्युतको तार हटाउनेक्रममा करेन्ट लागेर शुक्रबार दिउँसो गम्भीर घाइते बन्नुभएका राईको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

दिउँसो करिब एक बजेको समयमा विद्युतको तार निकाल्ने क्रममा मृतक राईलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेर बेहोस अवस्थामा रहनुभएका राईलाई गाउँपालिकाको एम्बुलेन्समार्फत दिउँसो करिब दुई बजे उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पु¥याइएको थियो ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको केही समयमै राईको मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमिति सचिव ललित लम्सालले जानकारी दिनुभएको छ । करेन्ट लागेर मृत्यु भएका राईको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रको शव परीक्षण गृहमा राखिएको छ ।

मृतक राई नेकपा (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य हुनुहुन्थ्यो । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा विशेषज्ञ डाक्टर नभएकाले मृतकको शव परीक्षण गर्न रावाबेँसी गाउँपालिकाबाट डाक्टर झिकाउने तयारी गरिएको सचिव लम्सालले जानकारी दिनुभएको छ ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेरै गम्भीर घाइते हुनुभएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा भुजेललाई अपरान्ह तीन बजेको समयमा करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

इन्टरनेटमा समस्या आएको जानकारीपछि भुजेल मर्मतका लागि शुक्रबार नै सप्तेश्वर पुग्नुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएको छ ।

शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका भुजेलको जिल्ला अस्पतालमा भर्ना गरेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आएको जनाइएको छ । बेहोस अवस्थामा अस्पताल भर्ना हुनुभएका भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रुपेश सङ्ग्रौलाले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया