यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

Halesi Khabar

खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो ।

माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राखेका छौँ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।”

हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ । बुइपामा विश्वकै अग्लो र ठूलो यलम्बरको शालिकसहित आधुनिक प्रविधिको पार्क निर्माण भएपछि जिल्लाको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

किरात समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभएको छ । “यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “यलम्बरको शालिकसहितको पार्कलाई नगरपालिकाले गौरवको आयोजनामा राखेर निर्माण सम्पन्न गरिएको छ । पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”

यलम्बर पार्क निर्माणको काम सम्पन्न भएको महिना दिन बितिसक्दा पनि नगरपालिकाले आफूहरुले पाउने रकम भुक्तानी दिएर जिम्मा नलिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्धक सुनिल राईले जानकारी दिनुभएको छ । “तोकिएको काम वैशाख–१० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ । अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन”, उहाँले भन्नुभयो, “यलम्बर पार्क निर्माणको काममा हामीले जिम्मा लिएका सबै काम सम्पन्न गरेर वि.सं. २०८२ जेठ– १७ गते औपचारिक उद्घाटन गर्ने तयारी गरेका थियौँ । नगरपालिकाबाट करिब रु तीन करोड रकम भुक्तान लिन बाँकी छ । नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी गरिएको औपचारिक कार्यक्रम नै रोक्न बाध्य भयौँ । रकम भुक्तानी नहुँदा हामी निर्माण कम्पनी समस्यामा परेका छौँ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

यलम्बरको शालिकसहितको पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्व अन्तरगतको बजेट नगरपालिकामा नआएकाले निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ । प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध गराएको छैन”, उहाँले भन्नुभयो, “प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ । बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ ।”

कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माण गरिएको यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्नसमेत सहज हुने देखिएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण गरिएको यलम्बर पार्कमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यलम्बर पार्कलाई निक्कै महत्वका साथ हेरिएको छ । तस्वीर सौजन्य : सुनिल पराजुली 

तपाईको प्रतिक्रिया