खोटाङ, २४ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय सचिवमा खोटाङकी प्रविणा राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खोटाङकी राई वाईसिएल नेपालको महिला केन्द्रीय सचिवमा सर्वसम्मत् चयन हुनुभएको हो ।
वि.सं. २०६७ सालमा पब्लिक युथ क्याम्पस धोबीचौर काठमाडौँको अखिल क्रान्तिकारी क्याम्पस इकाई कार्यसमिति सदस्यबाट राजनीति शुरु गर्नुभएकी राई राजधानी केन्द्रित पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । वि.सं. २०७५ सालदेखि वाईसिएल नेपालमा आवद्ध हुनुभएकी राई तीन कार्यकाल केन्द्रीय सदस्य हुनुभएको थियो ।
महाधिवेशनमा खोटाङबाट केन्द्रीय सचिवालय सदस्यमा किसान राई ‘दोबालिछा’, केन्द्रीय सदस्यमा सुदीप राई ‘बाङ्देल’ र उमेर समूहबाट केन्द्रीय सदस्यमा प्रविण राई चयन हुनुभएको छ । राजधानी काठमाडौँमा गएराति सम्पन्न वाईसीएल नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुष्प ओलीसहित सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।
वाईसिएल नेपाल केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा डम्बर पुलामीमगर ‘कर्म’ र महासचिवमा गणेश शाही चयन हुनुभएको छ । जेठ–१८ गते उद्घाटन भएको वाईसिएल नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जनाइएको छ ।


