खोटाङ, २३ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सिफारिसमा अर्थमन्त्रालयले सहमती दिएपछि पत्रकार महासङ्घ खोटाङको भवन निर्माणका लागि बहुवर्षे आयोजना अन्तरगत रु तीन करोड बजेटको स्रोत सुनिश्चित भएको हो ।
अर्थमन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै पत्रकार महासङ्घ खोटाङको भवन निर्माणका लागि नौँ महिनाभित्र ठेक्का सम्झौता गरेर निर्माणको प्रक्रिया शुरु गर्नुपर्ने बाटो खुला भएको छ । सहमतीअनुसार नौँ महिनाभित्र भवन निर्माणका लागि ठेक्का सम्झौता नगरिएको खण्डमा अर्थमन्त्रालयले दिएको सहमती स्वतः खारेज हुने अर्थमन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच भएको सहमतीपत्रमा उल्लेख छ ।
भाडाको घरमार्फत कार्यसञ्चालन गर्दै आएको पत्रकार महासङ्घ खोटाङले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री राईलाई गत मङ्सिर–३० गते ज्ञापनपत्र बुझाएको थियो । प्रदेश सरकारका पवक्तासमेत रहनुभएका मन्त्री राईलाई पत्रकार महासङ्घ खोटाङका नवनिर्वाचित कार्यसमितिले कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री राईले यसै वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । मन्त्री राईले पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन दिक्तेलमा आयोजना गर्नुभएको कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले ज्ञापनपत्र बुझाउनुभएको हो ।
पत्रकार महासङ्घको भवन निर्माणका लागि यस आर्थिक वर्षका लागि रु २० लाख, आर्थिक वर्ष २०८२÷८३ का लागि रु दुई करोड र आर्थिक वर्ष २०८३÷८४ का लागि रु ८० लाख बजेट आउने निश्चित भएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट प्राप्त हुने बजेटमार्फत ठेक्का आव्हान गरेर पत्रकार महासङ्घको भवन निर्माणको काम शुरु गरिने जनाइएको छ ।
कृषिविज्ञ मदन राईले दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले वि.सं. २०६३ सालमा निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि ढुङ्गा÷माटोको कच्ची भवन निर्माण गरिए पनि उपयोगविहीन भएको थियो ।
निर्माण गरेको लामो समय उपयोगविहीन बनेको पत्रकार महासङ्को भवन भत्काएर सोही ठाउँमा पक्की भवन निर्माणको काम शुरु गरिएको छ । पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर घडेरी सम्याउने काम यसअघि नै सम्पन्न गरिएको निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ ।
वि.सं. २०६१ सालमा स्थापना भएको पत्रकार महासङ्घ खोटाङको कार्यालय अहिले दिक्तेल बजारस्थित भवनगैरामा भाडाको घरमा सञ्चालन भइरहेको छ । पत्रकार महासङ्घ खोटाङको नाममा निःशुल्क प्राप्त आफ्नै जग्गा भएपनि आवश्यक बजेट अभावका कारण पक्की भवन निर्माण गर्न नसकिएको हो ।


