खोटाङ, २३ जेठ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङका दश स्थानीय तहलाई रु तीन अर्ब ८१ करोड ६० लाख अनुदान रकम उपलब्ध गराएको छ । अर्थ मन्त्रालयबाट जेठ–१९ गते सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका लागि चालुतर्फ रु तीन अर्व ४६ करोड ६९ लाख र पुँजीगतमा रु ३४ करोड ९१ लाख हस्तान्तरण गर्ने भएको हो ।
आर्थिक वर्ष २०८२÷०८३ का लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सङ्घीय सरकारबाट कुल रु ६९ करोड २० लाख पाउने छन् । पन्ध्र वडा रहेको यस नगरपालिकाले चालुतर्फ रु ६६ करोड २३ लाख र पुँजीगततर्फ रु दुई करोड ९७ लाख पाउने अर्थमन्त्रालयले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकालाई कुल रु ४७ करोड ३६ लाख वित्तीय अनुदान हस्तान्तरण हुनेछ । एघार वडा रहेको यस नगरपालिकाले चालुतर्फ रु ४४ करोड ९६ लाख र पुँजीगतमा रु तीन करोड ४० लाख प्राप्त गर्नेछन् ।
ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ रु ३५ करोड ६२ लाख र पुँजीगततर्फ रु दुई करोड २८ लाख गरि कुल रु ३७ करोड ९० लाख, केपिलासगढी गाउँपालिकालाई चालुतर्फ रु २९ करोड ३२ लाख र पुँजीगतमा रु छ करोड ६१ लाख गरि कुल रु ३५ करोड ९३ लाख वित्तीय अनुदान हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ । यस्तै, खोटेहाङ गाउँपालिकाले चालुतर्फ रु ३७ करोड ७८ लाख र पुँजीगतमा रु चार करोड २० लाख गरि जम्मा रु ४१ करोड ९८ लाख, जन्तेढुङ्गा गाउँपालिकाले चालुमा रु २६ करोड ९४ लाख र पुँजीगतमा रु चार करोड ३५ लाख गरि रु ३१ करोड २९ लाख पाउनेछन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालुमा रु ३४ करोड ९३ लाख र पुँजीगतमा रु तीन करोड सात लाख गरि रु ३८ करोड, रावाबेँसी गाउँपालिकाले चालुमा रु २५ करोड ४९ लाख र पुँजीगतमा रु दुई करोड ४९ लाख गरि रु २७ करोड ९८ लाख, बराहपोखरी गाउँपालिकाले चालुमा रु २२ करोड ९५ लाख र पुँजीगतमा रु दुई करोड ९४ लाख गरि रु २५ करोड ८९ लाख बजेट उपलब्ध गराएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकाले चालुतर्फ रु २२ करोड ४७ लाख र पुँजीगतमा रु तीन करोड ६० लाख गरि जम्मा रु २६ करोड सात लाख प्राप्त गर्ने अर्थमन्त्रालयले जनाएको छ ।


