खोटाङ, २० जेठ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले दिक्तेलमा उद्धारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरेको छ । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङको नेतृत्वमा आज (मङ्गलबार) साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले–खानीडाँडा सडकखण्डमा पर्ने खोँचमा संयुक्त अभ्यास प्रदर्शन गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति खोटाङद्धारा गठित संयुक्त उद्धार टोलीले मनसुनजन्य विपद्को समयमा पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्धार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन गरेका हुन् ।
प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्व तयारीस्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछानेले बताउनुभएको छ । “नेपालमा मनसुन शुरु भएको छ । मनसुनको समयमा बाढी, पहिरो लगायत विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरु आइपर्न सक्छन्”, उहाँले भन्नुभयो, “मनसुनजन्य प्राकृतिक विपद्लाई व्यवस्थापन गर्नका लागि सबैको सहयोग अपरिहार्य छ । संयुक्त उद्धार समितिले दिक्तेलमा प्रदर्शन गरेको अभ्यासले जिल्लाका सर्वसाधारणलाई प्राकृतिक विपद्बाट सचेत रहन तथा तत्काल उद्धारमा संलग्न हुनुपर्छ भन्ने सन्देशसमेत प्रवाह गरेको महसुस गरेका छौँ ।”
संयुक्त उद्धार टोलीले प्रदर्शन गरेको उद्धार तथा राहत वितरण सम्बन्धी अभ्यास अवलोकन गर्न जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायत प्रदर्शनस्थल पुगेका थिए । अवलोकनमा पुगेकाहरुले जिल्ला विपद् व्यवस्थापन समिति खोटाङको संयुक्त उद्धार टोलीले गरेको अभ्यास प्रदर्शन प्रभावकारी भएको बताएका छन् ।
यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लास्थित स्थानीय तहहरुसँग समन्वय गरेर मनसुनजन्य विपद्मा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत व्यवस्थापनाको काम गर्ने निर्णय पारित छ । मनसुनजन्य विपद्का घटनाका विषयमा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी हुने र सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भएकाले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय पारित गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङमा मङ्गलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लास्थित राजनीतिक दल, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सर्वपक्षीय बैठकले जिल्लाका दशवटै स्थानीय तहमा स्थानीयस्तरको विपद् व्यवस्थापन समिति गठन गरेर मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन जिल्लास्थित सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णयसमेत पारित गरिएको संयोजक घिमिरेले जानकारी दिनुभएको छ ।
जिल्लाका दशवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई बोलाइएको बैठकमा रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ बाहेक कोही पनि सहभागी थिएनन् । जिल्ला विपद् व्यवस्थापन समितिले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नभएपछि स्थानीय तहका जनप्रतिनिधिहरुको चर्को आलोचना भएको छ ।
बैठकमा सहभागीहरुले जिल्लामा हुन सक्ने विपद् प्रतिकार्यका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’को बैठकले कोशी प्रदेश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जनाएको छ ।


