खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो ।
नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु एक लाख २० हजार अनुदान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “अनुदानमा खोर बनाएका घर परिवारलाई दुई÷दुईवटा उन्नत जातका बङ्गुरको पाठापाठीसमेत उपलब्ध गराएका छौँ । नगरपालिकाको अनुदान तथा व्यक्तिगत लगानीमा व्यवसायिक बङ्गुर पालन गर्दै आएका घर परिवारलाई पशु प्राविधिकमार्फत परामर्श तथा औषधि उपचारसमेत उपलब्ध गराउने गरिएको छ ।”
बङ्गुर प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसको आधारमा व्यवसायिक बङ्गुर पालन गर्दै आएका ६८ घर परिवारलाई एक÷एक वटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभएको छ । करुणा फाउण्डेशनको सहयोगमा गरिएको १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घर परिवारलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
नगरसभाबाट पारित रु १२ लाख ५० हजार बराबरको बङ्गुर प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेर नगरवासी नागरिकसँग आवेदन आव्हान गरेको थियो । तोकिएको समयमा आवेदन दिएका घर परिवारमध्येबाट महिला, अपाङ्गता भएका व्यक्ति तथा विदेशबाट फर्किएका युवा छनोट गरेर बङ्गुरको पाठापाठी उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
नगरपालिकाभित्र बसोवास गर्ने हरेक नागरिकलाई आत्मनिर्भर बनाउन नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहने व्यक्ति र परिवारलाई अनुदान उपलब्ध गराउँदै आएको छ । एघारवटा वडा रहेको यो नगरपालिकाले यसअघि दूधमा आत्मनिर्भर बनाउन कृषकहरुलाई उन्नत जातका १०० वटा भैँसी वितरण गरेको थियो ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷०८१ को नगरसभाबाट नीति तथा कार्यक्रम नै पारित गरेको थियो । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका नगरवासीलाई व्यवसायिक बनाउँदै उनीहरुको आम्दानीको स्रोत बढाउन नगरपालिकाले करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको थियो ।
विशेषगरी रोजगारीको खोजिमा विदेश जाने युवालाई आफ्नै ठाउँमा रोजगारी दिलाउनका लागि नगरपालिकाले व्यवसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “रोजगारीको खोजिमा युवा पुस्ता दिनानुदिन विदेशिनेक्रम बढ्दो छ । युवा जमातलाई रोख्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसीसमेत रहेको हाम्रो नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ । किसानलाई कृषि तथा पशुपालनमा अनुदान उपलब्ध गराउँदै स्वरोजगार बनाउने योजना अघि सारिएको हो ।”
नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यवसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा र बङ्गुरको पाठापाठी उपलब्ध गराएसँगै उत्साहित बनेका छन् ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीसमेत रहेको यो नगरपालिकामा दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निक्कै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीमा अहिले दूध, मासु र तरकारीको अभाव हुँदै आएको छ ।
कृषकहरुले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले चिस्यान केन्द्रसहितको कृषि मार्टसमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले निर्धारण गरेको मूल्य, आवश्यकता र समयको आधारमा कृष्कले उत्पादन गरेका कृषि उपजको मूल्य परिवर्तन खरिद तथा बिक्री गर्नेगरी कृषि मार्ट सञ्चालन गरिएको हो ।


