दिप्रुङ चुइचुम्मा बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने चौथो पालिका

Halesi Khabar

खोटाङ, १८ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्र जन्मिएका १५ महिना उमेर समूहका २४१ जना बालबालिकाले नियमित तथा पाँच वर्षमुनिका २२६ जनाले पूर्णखोप लगाएको पाइएपछि यस गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको कार्यालय याङसोलाटारमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । पालिका खोप समन्वय समितिका अध्यक्ष एवम् गाउँपालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस उपप्रमुख तामाङले गाउँपालिकाभित्रका सातवटै वडाको स्वास्थ्य चौचीलाई प्रशंसापत्र र समन्वय समिति र स्वास्थ्य कार्यालयलाई कदरपत्र प्रदान गर्नुभएको छ ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जनप्रतिनिधि, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीव प्रसाद चौलागाइँ, महिला स्वास्थ्यसेवम्सेविका, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भइसकेका छन् । जिल्लाका अन्य स्थानीय तहले समेत वडा घोषणा गरेर पालिका घोषणाका लागि पत्र पठाएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

यसैबीच, पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभाको अवसर पारेर गाउँपालिकामा आयोजित हेल्लो डाक्टर कार्यक्रमको टोल फ्रि नम्बरसमेत शुभारम्भ गरेको छ । गाउँपालिकाको नागरिकलाई आपतकालीन अवस्थामा सरल तरिकाबाट थप प्रभावकारी बनाउनको लागि पैसा नलाग्ने टोल फ्रि नं. १८१०५०००४५५ शुभाराम्भ गरिएको हेल्लो डाक्टर कार्यक्रमका अहेव सुरेश प्रधानले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका आकस्मिक रूपमा बिरामी वा दुर्घटनामा परेका गाउँपालिकाभित्रका नागरिकलाई फोन सम्पर्कको माध्यमबाट स्वास्थ्यकर्मीहरुद्वारा घर वा घटनास्थलमा परामर्श, आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले हेल्लो डाक्टर कार्यक्रम सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०८०÷०८१ को भदौ–१ गतेबाट शुरु भएको ‘हेल्लो डाक्टर’ कार्यक्रमलाई प्रभावकारी बनाउन चारजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया