खोटाङ, १८ जेठ । दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो सडकखण्डमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम शुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल निर्माण शुरु गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा नं. १५ विजयखर्कको सिमाना पर्ने दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षाद्को समयमा करिब छ महिना यातायात ठप्प हुने गरेको छ । सडक सञ्चालनमा आएको लामो समयपछि प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवाखोलामा मोटरेबल पुल बन्न लागेको हो ।
दिखुवाखोलामा निर्माण हुने मोटरेबल पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि करिब रु पाँच करोड ५० लाख लाग्ने पूर्वाधार मन्त्रालयको अनुमान छ ।
ट्रस ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग एकाइ इटहरीले उपलब्ध गराउने जनाइएको छ । दिखुवाखोलामा निर्माण शुरु गरिएको पुलका लागि आवश्यक करिब रु दुई करोड बढीको स्टिल ट्रस तयार पारिसकिएको इकाइ प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिनुभएको छ ।
केही महिनाभित्र टेन्डर (आशयपत्र आव्हान) गरेर बाँकी पुल निर्माणको काम शुरु हुने मन्त्रालका प्रदेश सचिव अशोककुमार साहले जानकारी दिनुभएको छ । दिखुवाखोलामा निर्माण शुरु गरिएको मोटरेबल पुलका लागि भौतिक पूर्वाधार मन्त्री राईले गत फागुनबाट पहल शुरु गर्नुभएको थियो ।
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको घर्र्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ । घर्तीभिरमा ठूलो चट्टान भएकाले हाल जोड्ने काम भइरहेको छ ।
निर्माणाधीन सडकलाई विकल्पका रुपमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको छ । दिक्तेल–रेग्मीटार सिधा सडक यहि वर्ष जोडिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।
दिखुवाखोलामा मोटरेबल पुल नहुँदा यात्रु तथा व्यवसायीका लागि दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुँदै आउको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत ढुवानीमा सहज हुने व्यवसायीहरुले बताउँदै आएका छन् ।


