खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुला पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएर सामुहिक रुपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको बृहत् साकेला सिली प्रदर्शनीमा साकेला सिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ ।
तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार हुनुपर्छ । एक जातिले अर्को जाति तथा समुदायलाई सम्मान गर्न सकेको खण्डमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।”
नेता कोइरालाले किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमको प्रवद्र्धनमा आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । “ऐतिहासिकस्थलको प्रवद्र्धन गर्दा त्यसको ऐतिहासिकतालाई मास्नु हुँदैन । तुवाचुङ–जायजुमको विकास गर्दा पनि भू–गर्भविद्हरुको सुझाव लिनुपर्ने हुन्छ । यसमा मेरोतर्फबाट गर्नुपर्ने सहयोग जुनसुकै बेला पनि उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “तुवाचुङ–जायजुम रमणीयस्थलमा अवस्थित रहेछ । यसको स्तरोन्नति गर्न सकेमा पर्यटन प्रवद्र्धन हुन्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । मेरो व्यक्तिगततर्फबाट सकेको सहयोग गर्छु ।”
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजित कार्यक्रममा किरात राई समुदायको परम्परागत भेषभुषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा प्राकृतिकरुपमा रहेका रैछाकुलेको ढुङ्गाको मूर्ति र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ ।
किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुमलाई संरक्षण गर्न १५१ रोपनी जग्गा गरिद गरेर पदमार्गसहित ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा ७२२ मिटर लामो पदमार्गसहितको पर्खाल लगाइएको हो ।
तुवाचुङ–जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि वि.सं. २०७४ मङ्सिर–२ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किरात राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीनजना किराती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराती र गैंरकिराती पर्यटकको भीड लाग्ने गरेको छ ।
तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलीङ, भुटान लगायतका किरात समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्य अन्तरगत मुन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
किरात राई समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको शुरुवात गरेको किंवदन्ती बोकेको स्थलको रुपमा चिनिने तुवाचुङ जायजुममा हरेक वर्षको वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाको अवसरमा एक÷एक पटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर तीन चुला पूजा अर्थात् प्रकृतिको पूजा गरिएको हो ।
साकेला उँभौली ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ ।
साकेला उँधौलीमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागेस्, प्राकृति विपत्ति नपरोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । किरात ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा शुरु गरिने साकेला उँधौली भने, १५ दिनसम्म उनाउने गरिएको छ ।


