साढे चार करोड लागतमा बनाइएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा

Halesi Khabar

खोटाङ, १६ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले १५ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाख लागतमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ५० लाख, आर्थिक वर्ष २०७७÷०७८ मा रु एक करोड, आर्थिक वर्ष २०७८÷०७९ मा रु एक करोड र आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत निर्माण गरिएको भवन विद्यालयको ७७ औँ स्थापना दिवस तथा ७६ औँ वार्षिक उत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गर्नुभएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ देखि क्रमागत योजनाको रुपमा शौचालयसहितको विद्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण शुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुई तले सात कोठे छात्रावास भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यपक कुमार पराजुलीले जानकारी दिनुभएको छ ।

विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको छ । पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ ।

आधारभूत तहस्तरीय हाजिरीजवाफमा सिद्ध आधारभूत आवि प्रथम, भगवती दिनानाथ मावि दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु नौँ हजार, रु सात हजार २०० र रु छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु तीन हजार, रु एक हजार ८०० र रु एक हजार २०० प्रदान गरिएको छ । विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

चालु आर्थिक वर्ष रु चार करोड पाँच लाख दश हजार आय र रु तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रतिवेदनमा उल्लेख छ । आय व्याय अनुसार विद्यालयसँग रु १५ लाख ११ हजार मौज्दात रकम रहेको जनाइएको छ ।

मौज्दात रकममध्ये रु १३ लाख ८८ हजार बैङ्कमा र रु एक लाख २३ हजार प्रधानाध्यपकको जिम्मामा रहेको प्रतिजेदनमा उल्लेख छ । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा सञ्चालित यो भगवती दिनानाथ माध्यमिक विद्यालयमा प्राविधिक शिक्षासमेत अध्ययन÷अध्यापन हुँदै आएको छ ।

निक्कै तामझामका साथ आयोजना गरिएको कार्यक्रममा खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ उपप्रमुख रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । वि.सं. २००६ जेठ–१५ गते स्थापना गरिएको यस विद्यालयमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया