खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम शुरु गरेपछि उद्यमीहरु उत्साहित बनेका छन् ।
बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीन दिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन–१५ गतेदेखि १७ गते सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धि अनुसन्धानकर्ता लगायतगरी ७१३ जना सहभागी भएका थिए ।
सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुदे ‘खोटाङ घोषणापत्र’मा यस्तो निर्णय समेटिएको हो ।
दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन–१५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आयोजित सम्मेलनमा बाँस छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ ।
दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर प्रशोधन केन्द्र स्थापना गरिएपछि नगरपालिकामा बाँसजन्य सामग्रीको माग बढिरहेकाले उद्यमीको सङ्ख्या पनि बढाउनुपर्ने भएकाले विभिन्न चरणको तालिम आयोजना गरेर प्रवद्र्धनको काममा लागिपरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ तथा अमेरिकासम्मबाट आउन थालेको छ । शुरुवाती चरणमा भएकाले माग धान्न धौ–धौ भएको छ । त्यसैले उद्यमीको सङ्ख्या बढाउन तालिमको आयोजना गरेका हौँ । उनीहरुले उत्पादन गरेका सबै सामग्री उत्पादानस्थलबाटै नगरपालिकाले खरिद गर्छ”, उहाँले भन्नुभयो, “उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन । उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ । उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।”
नगरपालिकाले उद्यमीहरुको सीप विकासका लागि मोरङका टंकबहादुर मगर र भारतका प्रभात शाक्यलाई झिकाएर बाँसका सामग्री बनाउने तालिम सञ्चालन गरिरहेको छ । फर्निचर, घरायसी तथा सजावटका विभिन्न सामग्री उत्पादन गर्नेगरी चालु आर्थिक वर्षमा दुई चरणमा तालिम सञ्चालन गरिएको छ ।
पहिलो चरणको तालिममा रु नौँ लाख र दोस्रो चरणको तालिम रु १२ लाख खर्चेर सञ्चालन गरिएको नगरपालिकाकी उद्यम विकास सहजकर्ता शान्ता आचार्यले बताउनुभएको । पहिलो चरण मङ्सिर–२८ देखि तीन महिने तालिममा ३० जना र चैत–२१ देखि भएको पुनर्ताजगी तालिममा १५ जना सहभागी रहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा स्थापना गरिएको बाँस प्रशोधन केन्द्रमा सञ्चालित तालिममा सहभागी प्रशिक्षकलाई नेदरल्यान्डको सहयोगमा सञ्चालित चाँगुनारायण फाउन्डेसनले मासिक जनही रु ७५ हजारका दरले भत्ता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । यसबाहेक चोया काड्ने मेसिनसमेत चाँगुनारायण फाउन्डेसनले उपलब्ध गराउने सहजकर्ता आचार्यले जानकारी दिनुभएको छ ।
तालिममा सहभागीहरुलाई खाजा तथा खानाका लागि नगरपालिकाले प्रतिदिन प्रतिव्यक्ति रु ५०० का दरले भत्ता उपलब्ध गराएको छ । बेरोजगार भएर बसिरहेका नगरवासीलाई उद्यमी बनाएर आम्दानीसँग जोड्न नगरपालिकाले तालिम सञ्चालन गरेपछि आफूहरु उत्साहित बनेको सहभागीहरुले बताएका छन् ।
तालिम पश्चात यही पेशा अपनाएर व्यवसायिक बन्ने योजना बनाएको तालिममा सहभागी नेर्पाका नारायणप्रसाद रिजालले बताउनुभएको छ । “तालिममा बाँसबाट बन्ने सजावटका सामग्रीदेखि घरायसी तथा फर्निचरका आकर्षक सामग्री निर्माण गर्न सिकेका छौँ । यो तालिमले हामीलाई व्यवसायिक बन्न उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो, “तालिम सकिएपछि यो पेशालाई व्यवसायीकरण गर्ने योजनामा छु । यसको सम्भावना राम्रो रहेको छ । यसैबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु ।”
नरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेपछि स्थानीयवासीसमेत आशावादी बनेका छन् । बिना प्रयोग खेर गइरहेका बाँस आफ्नै ठाउँमा प्रशोधन गरेर आकर्षक सामग्री उत्पादन गर्न थालेपछि उनीहरु आयआम्दानीको स्रोत बन्नेमा आशावादी बनेका हुन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको यो जिल्लाकै सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसबाट बनाइएका फर्निचरहरू उपयोग गर्न थालेको छ । नगरप्रमुख भट्टराई तथा उपप्रमुख विशन राई तथा शाखा प्रमुखहरुको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएका छन् ।
स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको हो ।


