खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो ।
प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ ।
दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रेस सेन्टरका निवर्तमान केन्द्रीय सदस्य डम्बरसिं राई, पूर्व जिल्ला अध्यक्ष सूर्य तामाङ, दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेस राई, माओवादी केन्द्र खोटाङका संयोजक एवम् प्रदेश दिपक पाण्डे ‘आकाश’, प्रदेश सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समितिका इन्चार्ज होमकाजी आचार्य ‘विनोद’, प्रदेश सदस्य शोनिया चाम्लिङ, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिव रविन खम्बु लगायतले आ–आफ्नो धारण राख्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले इच्छुजस्ता हजारौँ शहीदहरुको बलिदानीमा नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै उहाँहरुले देखाएको बाटोमा समर्पित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्ष सविना अछामेको सभापतित्वमा आयोजित स्मृति दिवस तथा अन्तरसम्वाद कार्यक्रममा माओवादी केन्द्र निकट युवा, विद्यार्थी, कर्मचारी लगायत जनवर्गीय सङ्ठनमा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०१३ कातिक–३ गते बुबा यमबहादुर र आमा भीमकुमार सेनको कोखबाट भारतको देशरादुनमा जन्मनुभएका इच्छुक प्युठानका स्थायी बासिन्दा हुनुहुन्थ्यो । पत्रकार इच्छुकले नेपाली समाजमा साहित्यिक हस्तीको रुपमासमेत छवि बनाउनुभएको थियो ।


