जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको निर्णय

Halesi Khabar

खोटाङ, १२ जेठ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

वि.सं. २०४९ वैशाख–१ गते स्थापना भएर १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्न गत वैशाख–१ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । लामो समयसम्म १५ श्यया क्षमताको सुविधासहित सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको अस्पताल भवनको कामसमेत अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका स्वाथ्यमन्त्री राईले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारको निर्णयसँग अब जिल्ला अस्पताल खोटाङमा ११ औँ तहको विशेषज्ञ डाक्टरसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम भएको जनाइएको छ । आठौँ तहको विशेषज्ञ डाक्टरसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दीमा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ३३ वर्षपछि ५० श्ययामा स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय आएपछि जिल्लावासी हर्षित भएका छन् ।

जिल्ला अस्पताल खोटाङ ५० श्ययामा स्तरोन्नति भएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउनेगरी स्वास्थ्यकर्मीको दरबन्दीसमेत कायम गरिएको स्वास्थ्यमन्त्री राईले बताउनुभएको छ । “अब उपचार नपाएर खोटाङवासीले अकालमा मर्नुपर्ने बाध्यता आउँदैन । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पताल पठाएर खोटाङवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने बाटो खुलेको छ”, उहाँले भन्नुभयो, “पन्ध्र श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल ५० श्ययामा स्तरोन्नति भएपछि सेवा÷सुविधासमेत विस्तार गर्दै लगिनेछ । अस्पताल स्तरोन्नति गर्ने मन्त्रीपरिषद्बाट निर्णय पारित भएसँगै विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको दरबन्दीसमेत कायम गरिएको छ । अब बिगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्न सिरानीमा पैसा राखेर बस्नु पर्दैन । यसप्रति प्रदेश सरकार गम्भीर छ ।”

दश स्थानीय तह रहेको जिल्लामा आवश्यक भौतिक पूर्वाधार तथा विशेषज्ञ स्वास्थ्यकर्मी र उपकरण अभावका कारण सामान्य किसिमका स्वास्थ्य समस्यामा पनि सुविधासम्पन्न अस्पताल धाउनुपर्ने जिल्लावासीको बाध्यता छ । नेपाल सरकारले चार वर्षअघि देशभरका जिल्ला अस्पतालहरुलाई ५० श्ययामा स्तरोन्नति गरेर सुविधा थप गर्ने निर्णय गरेपनि दरबन्दी स्वीकृत लगायतका बारेमा निर्णय गर्न बाँकी थियो ।

सङ्घीय सरकारको निर्णयअनुसार सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गामार्फत भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्याम सुन्दर÷रामसागर÷नेपाल फूलबारी जेभीले जिल्ला अस्पताल खोटाङको भवन निर्माणको ठेक्का लिएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी वि.सं. २०७८ असार–२४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार वि.सं. २०८० पुस–२४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर–२९ गते सकिएको थियो । थपिएको म्यादसमेत सकिएपछि निर्माणाधीन अवस्थामै अलपत्र रहेको अस्पताल भवन सम्पन्न गराउनका लागि पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माणको कामलाई अगाडि बढाइएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।

अस्पताल स्तरोन्नतिका लागि ५० श्ययाको निर्माणाधीन भवनको काम करिब ८० प्रतिशत सम्पन्न भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । निर्माणाधीन जिल्ला अस्पतालको भवन तोकिएकै मितिमा सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाई र २०.५ मिटर चौडाईको हुने जनाइएको छ । चार तले आरसीसी पक्की भवन दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने प्राविधिक इस्टिमेटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया