खोटाङ, १० जेठ । पौडी खेल्ने क्रममा सुनकोशीमा डुबेर खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका हुन् ।
डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजेको समयमा सुनकोशीले बगाएको जानकारी प्राप्त भएको वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभएको छ । सुनकोशी बेपत्ता भएको जानकारी प्राप्त भएलगत्तै स्थानीयहरुले सविनलाई खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो ।
बेपत्ता सविनलाई वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको जनाइएको छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट खटिएका प्रहरीहरुसमेत घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका छन् । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए ।
सुनकोशी किनारको बाटो हुँदै गएका दुवैजना तुइम्बु बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको पाइएको वडाध्यक्ष राईले बताउनुभएको छ । गर्मी भयो भन्दै कोशीमा पौडी खेल्न पसेका सविनलाई भने कोशीले बगाएर बेपत्ता बनाएको हो ।
सविन डुबेर बेपत्ता भएपछि सँगै पौडी खेल्न पसेका सागरले फोन गरेर परिवारलाई जानकारी गराएका थिए । कोशीमा बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत रहेको प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताउनुभएको छ ।


