खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नुनथला स्पोर्टस् क्लब नुनथलालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै बाक्सिला फुटबल क्लब बाक्सिलाले रु दुई लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित छैटौँ संस्करणको उपाधि जितेको हो ।
खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उपाधि विजेता बाक्सिलाका १४ नं. जर्सीका खेलाडी सुजन माझी एक्लैले नुनथलाविरुद्ध चार गोल गर्नुभएको थियो । फाइनल खेलको पहिलो हाफमा ३–० गोलको अग्रता लिएको बाक्सिलाले दोस्रो हाफमा पुनः ३–० गोल गर्दै छैटौँ आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा उपविजेता बनेको नुनथला स्पोर्टस् क्लबलाई नगद रु एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका खेल संयोजक श्याम पौडेलले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न आठवटा फुटबल क्लब सहभागी प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बाक्सिला तथा नेर्पा स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नुनथला फाइनल प्रवेश गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा यही जेठ–७ गतेबाट शुरु भएको प्रतियोगिताको विद्यागत पुरस्कारतर्फ उदयीमान खेलाडीमा खोटाङ एकेडेमीका प्रतीक खड्का, सर्वोत्कृष्ट खेलाडीमा बाक्सिलाका पदम भट्टराई, सर्वाधिक गोलकर्तामा बाक्सिलाकै सुजन माझी, उत्कृष्ट गोल रक्षकमा बाक्सिलाका विवस चौधरी र उत्कृष्ट प्रशिक्षकमा बाक्सिलाकै सनम राई ‘जोजो’ घोषित हुनुभएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार, उदयीमान खेलाडीलाई रु दुई हजार तथा अरुलाई जनही नगद रु चार÷चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता क्लब तथा खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल फुटबल सङ्घ कोशी प्रदेश अध्यक्ष एवम् केपिसागढी गाउँपालिका प्रमुख समिर राई, उपप्रमुख गुरुराज राई, रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछाने लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले खेल क्षेत्रको समग्र विकासमा नगरपालिका सदैव तत्पर रहेको बताउनुभएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कार्यक्षेत्र बनाएर वि.सं. २०७३ सालमा स्थापना गरिएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । ‘स्थानीय खेलाडीहरुको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ छैटौँ संस्करणको प्रतियोगिता आयोजना गरिएको केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा विभिन्न उमेर समूहका खेलाडीहरुलाई सहभागी गराएर फुटबल खेल सम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको केएफएले अधिकांश प्रतियोगिताहरु दाताकै सहयोगमा सम्पन्न गर्ने गरेका छन् । फुटबल खेललाई व्यवसायीकरण गर्दै जिल्लामै व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको केएफएले उत्पादन गरेको खेलाडीहरु विभिन्न विभागीय टिम तथा फुटबल क्बलहरुमा आवद्ध भएर खेलिरहेका छन् ।


