खोटाङ, १० जेठ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदान अन्तरगत रु आठ करोड २१ लाख ७२ हजार ८९४ लागतमा निर्माण गरिएको सावाखोलाको मोटरेबल पक्की पुल शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको सिमानामा अवस्थित सावाखोलाको भानुमति घाटमा निर्माण गरिएको ४१ दशमलव ४० लम्बाई तथा ८ दशमलव ४० मिटर चौडाइको मोटरेबल पक्की पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले रिबन काटेर गर्नुभएको छ । खोटाङबजार–चिसापानी सडक निर्माण गरेर सञ्चालनमा आएको लामो समयसम्म पक्की पुल अभावमा यातायात अवरुद्धको समस्या खेप्दै आएका दक्षिणी क्षेत्रका स्थानीयवासी सावाखोलामा मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि हर्षित भएका छन् ।
सावाखोलाको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले खोटाङको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विकासका कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ । “सावाखोलाको पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्यायौँ । बुँवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको छ । सुनकोशीस्थित बङ्शिला घाटको पक्की पुल पनि समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सुनकोशीको बङ्शिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिन सकिन्छ । त्यसपछि खोटाङवासीको समृद्धिको बाटो खुल्छ ।”
मन्त्री राईले दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण शुरु गरिएको जानकारी दिनुभएको छ । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईले खोटाङको विकास निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सबै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूलाई आह्वानसमेत गर्नुभएको छ ।
सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई झर्न र जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र ईलाका प्रशासन कार्यालय खोटाङबजार आवतजावत गर्न सहज भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । सावोखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रममा दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका सचिव तथा इन्जिनियर, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
सावाखोलाको मोटरेबल पक्की पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी वि.सं. २०८० वैशाख–११ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर निर्माणको काम शुरु गरेको थियो । निर्माण कम्पनी सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले समयमै सावाखोला मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि शनिबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वी तराई जोड्ने सडकखण्डमा निर्माण गरिएको मोटरेबल पक्की पुलको दुबैतर्फ १ दशमलव २० मिटरको फुटपाथसमेत निर्माण गरिएको छ । पुलमा यातायात डुडिरहेको समयमा समेत सर्वसाधारणलाई पैदल गर्न मिल्नेगरी फुटपाथ निर्माण गरिएको निर्माण कम्पनीका सञ्चलक महेश रेग्मीले जानकारी दिनुभएको छ ।
सावाखोलामा मोटरेबल पक्की पुल निर्माण गरेबापत निर्माण कम्पनी सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले पाउने रकम प्रदेश सरकारले भुक्तानीसमेत गरिसकेको जनाइएको छ । हिउँद्को समयमा करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको खोटाङबजार–चिसापानी सडकखण्डको सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी गरिएको यातायात व्यवसायीहरुले बताएका छन् । तस्वीर उपलब्ध छ ।


