फोक्सिङटारको बेलिब्रिज झिकियो, खोटाङ छ महिना पूर्वी तराईसँगको नाकाबन्दीमा

Halesi Khabar

खोटाङ, ८ जेठ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पको रुपमा यातायात सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।

खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा गत पुस–२७ गतेबाट अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । कोशीमा पानीको सतह बढ्न थालेपछि जेठ–५ गतेबाट यातायात बन्द गरेर अस्थायी बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ ।

फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालिएसँगै खोटाङबाट पूर्वी तराईका विभिन्न शहरसँगको सिधा यातायात सेवा विच्छेद भएको छ । सडक विभागको रु एक करोड दुई लाख लागतमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर गाईघाटले फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान तथा झिक्नेगरी ठेक्का लिएको हो ।

फोक्सिङटारमा पक्की पुल सञ्चालनमा आउनुअघि हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । फोक्सिङटारमा निर्माण शुरु गरेको दश वर्षपछि सञ्चालनमा ल्याइएको मोटरेबल पक्की पुल बाडीले बगाएपछि यसअघि थन्क्याएर राखिएको सामान जडान गरेर अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

बाढीले बगाउको पक्की पुलको विकल्पमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर, काँकडभिट्टा लगायतका शहर जाने दोस्रो र छोटो मार्ग कम्तिमा छ महिनाका लागि बन्द भएको छ । फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालेपछि पूर्वी शहर जान–आउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ ।

फोक्सिङ्टारको अस्थायी बेलिब्रिज हटाइएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मुल्यमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ । पूर्वी तराईका विभिन्न शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटा लगायतका निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्यसमेत वृद्धि हुने गरेको व्यापारीहरुले बताएका छन् ।

निर्माण सम्पन्न गरेर सञ्चानमा आएको करिब दुई वर्ष नपुग्दै आर्क डिजाइनको मोटरेबल पक्की पुल बाढीले बगाएपछि ठेकेदार तथा राजनीतिक दलका नेताहरुको आलोचना भइरहेको छ । वि.सं. २०६९ चैत २३ गते सम्झौता गरेर चार वर्षभित्र पूरा गर्नेगरी निर्माण शुरु गरिएको १२० मिटर लामो पक्की पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले ठेक्का लिएको हो ।

फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । तर, पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै काढीले बगायो । यो खोटाङ्गे जनताका लागि दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

खोटाङवासीको दैनिकीसँग जोडिएको फोक्सिङटार पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट अर्थमन्त्रालयबाट सुनिश्चित भएर ठेक्का प्रक्रियामा रहेको नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम यही जेठ–४ गते शुभारम्भ गर्नुहुँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

फोक्सिङटार पुल खोटाङवासीको लाईफलाइनको रुपमा रहेकाले पनि पुनः निर्माणमा मन्त्रालयको तर्फबाट कुनै कमीकमजोरी नहुने मन्त्री दाहालले प्रतिबद्धता जनाउनुभएको छ । “फोक्सिङटार पुलमा यस भेगका नागरिकको भविष्य जोडिएको छ । पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर पुनः निर्माणको काम अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “पुल बगाएपछि जनतामा नैराश्यता छाएको अवस्था छ । प्रकृतिसँग जुध्न सक्छौं तर, प्रकृतिलाई परास्त गर्न सक्दैनौँ । तसर्थ हामीले प्रकृतिसँग मिलेर काम गर्न पर्नुपर्छ । फोक्सिङटारको पुल प्राकृतिक, भौतिक र वातावरण सबै हिसाबले गहन अध्ययन गरेर निर्माण गर्छौँ ।”

वि.सं. २०७३ सालमा कालोपत्र थालिएको दिक्तेल–गाईघाट सडक ठेकेदारको लापरबाहीले सम्पन्न नभएपछि ठेक्का तोडेर फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले पुनः रु ८६ करोड बजेट उपलब्ध गराएको छ । पहिलो खण्डको सडक कालोपत्रको जिम्मा रु ४२ करोड लागतमा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रु ४६ करोड लागतमा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजनाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया