हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न दश बुदे घोषणापत्र जारी

Halesi Khabar

खोटाङ, ७ जेठ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न ‘शैक्षिक सम्मेलन’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दश बुदे घोषणापत्र जारी गरेको छ । त्रिधार्मिकस्थल हलेसीस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको एक दिवसीय शैक्षिक सम्मेलनले सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो ।

विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवद्र्धन गर्न नगरपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा प्रधानाध्यापक र विद्यालय कर्मचारीबीच कार्य सम्पादन करार सम्झौता गर्ने र विद्यालयमा कार्यरत सबैको कार्य विवरण सबैले देख्ने ठाउँमा राख्ने घोषणापत्रमा उल्लेख गरिएको छ । सम्मेलनमा सहभागी जनप्रतिनिधि, शिक्षक, अभिभावक र कर्मचारीले सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउन सार्वजनिक पद धारण गरेका व्यक्तिले ‘मेरो विद्यालय म आफै बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रका सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।

शिक्षालाई सीप, संस्कार र प्रविधिसँग जोड्दै सामुदायिक विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने, आवश्यकताका आधारमा कक्षा घटाउने तथा विद्यालय समायोजन गरी आवासीय विद्यालय सञ्चालनमा जोड दिने घोषणापत्रमा उल्लेख छ । शिक्षक अभावको परिपूर्तिका लागि शिक्षक बैङ्क स्थापना गरी कुनै किसिमबाट शिक्षकको अभाव भएमा शिक्षण अरुवद्ध नहुने नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने, दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन खपत हुने गरी विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था मिलाउने, प्रत्येक विद्यालयले शिक्षा सुधारको वार्षिक कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।

कक्षा–११ र १२ का विधार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार बुक फ्री डे कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने तथा ‘गुणस्तरीय शिक्षा समृद्ध हलेसीः हामी सबैको जिम्मेवारी’लाई आत्मसाथ गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ । घोषणापत्रमा उल्लेखित बुदालाई स्वेच्छिकरुपमा पालना गर्दै कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकका विभिन्न पेशागत सङ्घ तथा सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगरभित्रका ९० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षक, कर्मचारीले सहिछाप गरेका छन् ।

शिक्षकहरुले आफ्नो पेशागत सुरक्षाका लागि २९ दिनसम्म राजधानी केन्द्रित आन्दोलन गरेर फर्किएपछि उनीहरुलाई पुर्नताजकी गराउने उद्देश्यले शैक्षिक सम्मेलनको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । ‘सक्षम शिक्षक स्तरीय शिक्षा परिस्कृत संस्कार, सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार’ भन्ने नाराका साथ आयोजना गरिएको शैक्षिक सम्मेलनको सहजीकरण उत्प्रेरक वक्ता रमन भट्टराई र शिक्षाविद् भुपेन्द्र कोईरालाले गर्नुभएको थियो ।

नगरपालिकाले आयोजना गरेको दोस्रो कार्यकालका जनप्रतिनिधिले गरेका तीनवर्षे मुख्य उपलब्धि सार्वजनिकीकरण तथा शैक्षिक सम्मेलनको उद्घाटन मङ्गलबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले गर्नुभएको थियो । डिडियो डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको उपलब्धिको प्रतिवेदनअनुसार जनताका आधारभूत मागलाई सम्बोधन गर्दै अबको एउटै लक्ष्य पर्यटन विकास तथा प्रवद्र्धनका योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया