खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर पारेर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो तीनवर्षे कार्यकालको मुख्य उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।
त्रिधार्मिकस्थल हलेसी बजारस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले गरेका मुख्य उपलब्धिहरुलाई भिडियो (श्रव्यदृष्य सामग्री) डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको छ । औपचारिकरुपमा सार्वजनिक गरिएको डिडियो डकुमेन्ट्रीअनुसार जनताका आधारभूत मागहरुलाई सम्बोधन गर्दै अबको एउटै लक्ष्य पर्यटन विकास तथा प्रवद्र्धनका योजना बनाइएको जनाइएको छ ।
भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको जनाइएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा निर्माण गरिएका सडकमध्ये दुई हजार ५०० मिटर ढलान तथा ५१२ किलोमिटर सडक स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ ।
भौतिक पूर्वाधार निर्माण अन्रगत नै ११ वडामध्ये आठवटामा पक्की भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको जनाइएको छ । वडा नं. ७ महादेवस्थानका वडाध्यक्षसमेत रहनुभएका नगर प्रवक्ता गिरीअनुसार वडा नं. ५ दुर्छिममा जग्गा विवादका कारण निर्माण शुरु गरिएको छैन भने, वडा नं. ९ सल्ले र वडा–११ राजापानीमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।
खानेपानी तथा सिँचाइको क्षेत्रमा समेत उल्लेख्य उपलब्धि हाँसिल गरिएको भिडियो डकुमेन्ट्रीमार्फत् जानकारी दिइएको छ । खानेपानीअन्तरगत लोचाखोला, सहरबोटे मुहान, जुकेखोला लिफ्टिङ आयोजना सञ्चालन गरिएको जनाइएको छ भने, बृहत् हलेसी लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
सिँचाइ तथा रिचार्जका लागि नगरपालिकाभित्र २३० वटा पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको जनाइएको छ । यस्तै, घोपाटार माझीगाउँ सिँचाइ, दूधकोशी–हात्तीटार लिफ्ट सिँचाइ, टिमुरे लिफ्ट सिँचाइ, कुर्ले–रुपाटार सिँचाइ लगायतगरी २१ वटा आयोजना सञ्चालनमा ल्याइएको नगर प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
नगरपालिकाभित्र सञ्चालित ९० वटा सामुदायिक तथा निजी विद्यालयमध्ये २६ वटामा नयाँ आरसिसी भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । शैक्षिक क्षेत्रको गुणस्तर सुधार अभियानमा लागेको नगरपालिकाले बाल विकास केन्द्रदेखि कक्षा–१२ सम्म पूर्णरुपमा निःशुल्क शिक्षा लागू गरेको जनाएको छ ।
स्वास्थ्य क्षेत्रको सुधार तथा स्तरोन्नतिअन्तरगत पाँच श्ययाको नगर आधारभूत अस्पताल सञ्चालन, ११ वटै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रवाह, नगर आधारभूत अस्पतालमा चौबीसघण्टे सेवा, गरिब, दलित र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स लगायतका काम गरिएको जनाइएको छ । सङ्घीय सरकारको अनुदानमा निर्माण शुरु गरिएको १५ श्ययाको नगर आधारभूत अस्पतालसमेत तीव्रगतिमा निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरवासीको जीविकोपार्जन कार्यक्रम अन्तरगत कृषकहरुलाई १०० भैंसी वितरण, बाख्रा तथा सुँगुरको पाठा वितरण तथा सुन्तला, तरकारी, केरा र लिची पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको जनाइएको छ । यस्तै, ढाका कपडा तथा दुनाटपरी उद्योग, कृषि मार्ट सञ्चालन, रैथानेबाली प्रवद्र्धन, उद्यम गर्न चाहनेका लागि ब्याज अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
पर्यटन प्रवद्र्धनअन्तरगत हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क (ढुङ्गेबगैँचा उद्यान), मञ्जुश्री गुफा, सल्लेपोखरी, भुम्जुडाँडा, लगायत २६ वटा धार्मिकस्थलको स्तरोन्नति, होमस्टे (घरबास)हरु सञ्चालन, पर्यटक गाइड (पथ प्रदर्शक) उत्पादन लगायतका काम गरिएको जनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बालिका बचत, स्वास्थ्य बीमा, विभिन्न जातजातिका लागि १४ वटा सामुदायिक भवन निर्माण लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
सुशासनको क्षेत्रमा नगरपालिकाले आफ्नै नीति बनाएर अधिकांश मुद्धामा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको न्यायिक समितिका संयोजक एवम् नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभएको । “जघन्य किसिमका बाहेक अधिकांश मुद्धा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ । यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो, “सुशासनको पक्षमा कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ । पीडित र पीडक दुवै सन्तुष्ट छन् ।”
आफूहरु निर्वाचित भएर आएको तीनवर्षे कार्यकालमा नगरवासीको आधारभूत कुराहरु पूरा गर्न सफल भएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “हामीले निर्वाचनको घोषणापत्र बमोजिम काम गरिरहेका छौँ । मुख्यगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनगरी पाँचवटा विषयलाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्ने योजना बनाएका थियौँ । जसमा अधिकांश योजना पूरा भइसकेका छन्”, उहाँले भन्नुभयो, “अबको एउटै लक्ष्य भनेको पर्यटन विकास हुनेछ । यसका लागि नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति गरिसकेका छौँ । अब यसलाई प्रवद्र्धन गरेर आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”
नगरपालिकाका जनप्रतिनिधिले गरेका उपलब्धि सार्वजनिकीकरण तथा शैक्षिक सम्मेलन कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले मङ्गलबार पानसमा बत्ती बालेर गर्नुभएको थियो । निक्कै तामझामका साथ उद्घाटन गरिएको कार्यक्रमका वक्ताहरुले हलेसी तुवाचुङ नगरपालिकाको कार्यसम्पादन उत्कष्ट भएको भन्दै प्रशंसा गरेका छन् ।
महिलाको नेतृत्वमा रहेको नगरपालिकाले बेरुजु फछ्र्यौटमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दश स्थानीय तह रहेको जिल्लामा यो नगरपालिका जिल्ला प्रथम तथा १३७ वटा स्थानीय तह रहेको कोशी प्रदेशमा तेस्रो र देशभरका ७५३ वटा स्थानीय तहमा दशौँ स्थान ओगट्न सफल भएको छ ।
महालेखापरीक्षक कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनमा यस हलेसी तुवाचुङ नगरपालिकामा ०.१५ प्रतिशतमात्रै बेरुजु औल्याएको छ । आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदनअनुसार यस नगरपालिकाको बेरुजु रु २३ लाख ६७ हजार देखिएको छ ।
नगरपालिकाले आयोजना गरेको सार्वजनिकीकरण तथा उद्घाटन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, वुद्धिजीवि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ‘सक्षम शिक्षक, स्तरीय शिक्षा परिस्कृत संस्कार, सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार’ भन्ने नारासहित शैक्षिक सम्मेलनसमेत आयोजना गरिएको थियो ।


