स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारको खबरदारी आवश्यक

Halesi Khabar

खोटाङ, ५ जेठ । स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको खोटाङमा आयोजित अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको ‘पत्रकारिता क्षेत्रको सशक्तिकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसँगको समन्वयमा पत्रकार महासङ्घ कोशी प्रदेशले दिक्तेलमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको थियो । दिक्तेलस्थित होटल शुभदिनमा आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधि र पत्रकारबीच आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रममा पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । हलेसी न्यूज नेटवर्कका सञ्चालकसमेत रहनुभएका पत्रकार महासङ्घका अध्यक्ष आचार्यले जिल्लामा सञ्चालित सञ्चार माध्यम र त्यसमा कार्यरत पत्रकारहरुको अवस्था, स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहजीकरण, भावी रणनीति तथा चुनौति लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।

भौगोलिक बिकटताका बाबजुद जिल्लामा क्रियाशील पत्रकारहरुले स्थानीय तहका जनप्रतिनिधिले गरेका असल अभ्यास तथा कमीकमजोरीहरुलाई आम नागरिकमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्यक्ष आचार्यले बताउनुभएको छ । अन्तरसम्वाद कार्यक्रममा पत्रकारको क्षमता विकास, खोज पत्रकारितामा प्रोत्साहन, लेखनवृत्ति, प्रोत्साहन पुरस्कार तथा सञ्चारकर्मीको संरक्षण र विकासमा सहयोग गर्न स्थानीय तहका जनप्रनितनिधिहरुलाई आग्रहसमेत गरिएको छ ।

अन्तरसम्वाद कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि छलफल गनुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जिल्लामा क्रियाशील पत्रकारहरुले खोज पत्रकारितामा जोड दिनुपर्ने बताउनुभएको छ । “पत्रकारले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको राम्रा कुरालाई मात्र नभइ कमीकमजोरीलाई समेत औल्याइदिनुपर्छ । पत्रकारले जनप्रतिनिधि तथा कर्मचारीको कमीकमजोरी नऔल्याएसम्म सुशासन कायम हुँदैन”, उहाँले भन्नुभयो, “हामी सुशासनको पक्षमा छौँ । हाम्रो नगरपालिकामा सुशासन कायम गर्न जिल्लाका पत्रकारहरुले धेरै सहयोग गर्नुभएको छ । आगामी दिनमा अझ खोज पत्रकारिताको माध्यमबाट खबरदारी गर्नुहोला । यसमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनेछौँ ।”

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जिल्लाका पत्रकारको वृद्धि विकासमा आफ्नो नगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । “जिल्लामा क्रियाशील पत्रकारहरुले स्थानीय सरकार र जनताको बीचमा सूचना प्रवाह गर्ने पुलको काम गरिरहनुभएको छ । दिनरात सूचना प्रवाहको काममा खटिनुभएका पत्रकारहरुको जीवनयापन तथा वृद्धि विकासमा स्थानीय सरकार पनि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “जिल्लाका पत्रकारहरुले दिनरात नभनी हामीले गरेका राम्रा गतिविधिहरुलाई प्रोत्साहन तथा नराम्रा कामलाई खबरदारी गरिरहनुभएको छ । हाम्रो कमीकमजोरीका विषयलाई अझ औल्याइदिनहोला । त्यसले हामीलाई आगामी दिनमा सच्चिने अवसर मिल्नेछ । अनिमात्र देशमा सुशासन कायम हुन्छ ।”

ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले गाउँपालिकामा हुने हरेक कार्यक्रमलाई पारदर्शी बनाउन पत्रकारहरुसँग सहकार्य गरिरहेको बताउनुभएको छ । करिब दुई घण्टा सञ्चालन भएको अन्तरसम्वाद कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत लगायतले पत्रकारिता क्षेत्रको सशक्तिकरणमा स्थानीय तहको भूमिकाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरसम्वाद कार्यक्रमलाई औपचारिकरुपमा समापन गर्नुहुँदै पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकार र स्थानीय सरकारबीचको सहकार्यले समाजमा सुशासन कायम गर्नुका साथै व्यवसायिक पत्रकारिताको विकास सम्भव रहेको बताउनुभएको छ । अन्तरसम्वाद कार्यक्रममा पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमाकुमारी चेम्जोङ, सचिवहरु ध्रुव भट्टराई र अरबिन्द्र मेहेता, कोषाध्यक्ष सुदिप कोईराला, खोटाङ जिल्लाका अग्रज पत्रकार कृष्ण आचार्य, पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु डम्बरसिं राई, दमन राई, दिलीप खत्री, जिल्लास्थित जनवर्गीय पत्रकार सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया