खोटाङ, २ जेठ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोवास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोवास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकतावद्ध भएर गर्दै आएका छन् ।
सानातिना विकासे कामको लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरुको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ जना विद्यार्थी भर्ना भएका छन् ।
गाउँपालिकाबाट यसै वर्ष कक्षा–८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई सँस्कारसहितको गुणस्तरीय तथा व्यवहारिक शिक्षा उपलब्ध गराउन कसिएका छन् । वि.सं. २०३६ सालमा स्थापना गरिएको यस विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा–२ सम्म अङ्गेजी माध्यमको पढाइ हुन्छ ।
विद्यार्थी अभावमा बाह्र वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजना गरेर सञ्चालन गरिएको कालिका आधारभूत विद्यालयमा प्रत्येक शैक्षिकसत्र क्रमशः बढाउँदै लगेर कक्षा–८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०७० सालमा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयबीच समायोजन गरेर कालिका आधारभूत विद्यालय बनाइएको यस विद्यालयलाई यसै शैक्षिकसत्रदेखि पूर्ण आवासीयसमेत बनाइएको छ ।
चन्दा सङ्कलन गरेर जुटाइएको रकमले आवासीय बनाइएको यस विद्यालयमा पूर्ण आवासीय भएर अध्ययन गर्नका लागि १४ जना छात्र तथा २० जना छात्रा भर्ना भएका छन् । कक्षा–२ भन्दामाथिका विद्यार्थीलाई पूर्ण आवासीयरुपमा अध्यापन गराउने लक्ष्य राखिएको यस विद्यालयमा साना बालबालिकालाई अनिवार्य गरिएको छैन ।
छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको यस आवासीय विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ । आवासका लागि आवश्यक पर्ने फर्निचर, भन्छाको सामग्री तथा रासन भने, विद्यालय प्रशासन आफैले उपलब्ध गराएको जनाइएको छ ।
पूर्ण आवासीय अध्ययनका लागि भर्ना भएका छात्रछात्राका लागि एक÷एकजना महिला तथा पुरुष शिक्षक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले जानकारी दिनुभएको छ । उनीहरुका लागि खान तथा बस्ने व्यवस्थासहित थप रु तीन÷तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।
साधारण तरिकाले सञ्चालन हुँदै आएको सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान शुरु गरेको छोटो समयमा नै रु नौँ लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक विशाल राईले जानकारी दिनुभएको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएको रकमबाट सञ्चालन गरिएको आवासीय विद्यालय बिहीबार गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्घाटन गर्नुभएको छ ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्षमात्रै २२ जना नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक टीकाराम राईले जानकारी दिनुभएको छ । “साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई आवासीय बनाएर सँस्कारसहितको गुणस्तरीय तथा व्यवहारिक शिक्षा उपलब्ध गराउने योजना बनाएका छौँ । यो अभियानमा सबैको साथ र सहयोग प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । यसलाई रोक्नका लागि हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ । विद्यालयले शुरु गरेको अभियानमा सबैको साथ पाइएको छ ।”
साधारणधार अन्तरगतका कक्षा सञ्चालन हुँदै आएको कालिका आधारभूत विद्यालयलाई आवासीय बनाएसँगै राम्रो पढाइ हुने आशाले आफूले पनि छोरालाई ल्याएकर कक्षा–४ मा भर्ना गरेको कुभिण्डेकी कोपिला मगरले बताउनुभयो । मगरसँगै दम्कुका १३ जना, निजी विद्यालयका चार, हलेसीका एक, बुइपा र हुर्लुङका दुई÷दुई जना विद्यार्थी कालिका आधारभूत आवासीय विद्यालयमा भर्ना हुन आएको जनाइएको छ ।
दलित, गरिब र अभिभावकविहीन छात्रछात्राका लागि दशवटा कोटा निर्धारण गरेर पूर्ण आवासीयरुपमा शुरुवात् गरिएको भर्ना अभियानमा आठजना भर्ना भइसकेको विद्यालय प्रशासनले जनाएको छ । स्थापना भएको ४६ वर्षसम्म साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्ष अङ्ग्रेजी माध्यमका निजी विद्यालयमा अध्ययन गर्दै आएका चारजना विद्यार्थीसमेत भर्ना भएका छन् ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्षमात्रै २२ जना नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक टीकाराम राईले जानकारी दिनुभएको छ । “साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई आवासीय बनाएर सँस्कारसहितको गुणस्तरीय तथा व्यवहारिक शिक्षा उपलब्ध गराउने योजना बनाएका छौँ । यो अभियानमा सबैको साथ र सहयोग प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । यसलाई रोक्नका लागि हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ । विद्यालयले शुरु गरेको अभियानमा सबैको साथ पाइएको छ ।”
आवासीयरुपमा बसेर अध्ययन गर्नका लागि भर्ना भएका विद्यार्थीको अभिभावकबाट मासिक रु एक हजार ५०० का दरले शुल्क लिने निर्णय गरिएको जनाइएको छ । आवासमा बस्ने विद्यार्थीका लागि खाना तथा खाजा पकाउन मासिक रु सात हजार उपलब्ध गराउनेगरी स्थानीय एकजना महिला कर्मचारी नियुक्त गरिएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै व्यवहारिक शिक्षा प्रदान गर्नका लागि केही वर्षअघिदेखि अभ्यास गर्दै आएको कालिका आधारभूत विद्यालयलाई इको हिमाल नामक गैरसरकारी संस्थाले समेत सहयोग गर्दै आएको छ । गैरसरकारी संस्था इको हिमालले किशोरी आवास कार्यक्रम अन्तरगत एउटा भवन निर्माण गरिदिनुका साथै तरकारी खेतीका लागि प्लाष्टिक टनेल निर्माण तथा प्राविधिक सहयोग उपलब्ध गराएको प्रधानाध्यापक राईले जानकारी दिनुभएको छ ।
विद्यालय प्राङ्गणभित्रै निर्माण गरिएको टनेलभित्र गोलभेडा, बन्दा तथा फूलकोभी, प्याज, काक्रा लगायतका तरकारी रोपिएका छन् । विद्यार्थी आफैले अभ्यास शिक्षाका रुपमा टनेलभित्र खेती गरेर उत्पादन गरेका गोलभेडा प्रति केजी (किलोग्राम) रु ६० का दरले गाउँमै बिक्री भइरहेको जनाइएको छ ।
अभिभावकको सक्रियतामा पूर्ण आवासीय बनाइएको कालिका आधारभूत विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने गाउँपालिका प्रमुख श्रेष्ठले बताउनुभएको छ । “गुणस्तरीय शिक्षा तथा भौतिक सुविधा अभावका कारण धेरै अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय छोडाउने गरेका छन् । यसलाई रोक्नका लागि पनि गाउँपालिकाले योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “दम्कुका स्थानीयवासीले उदाहरणीय कामको शुरुवात् गर्नुभएको छ । यसमा गाउँपालिकाको तर्फबाट सहयोग उपलब्ध गराउँदै कालिका आधारभूत विद्यालयलाई सिकाइ केन्द्रको रुपमा विकास गर्ने तयारीमा छौँ ।”
भौगोलिक रुपमा बिकट क्षेत्र दम्कुमा सञ्चालित यस विद्यालयका विद्यार्थी तथा शिक्षकले यसअघि जन्मदिनको अवसरमा फजुल खर्च गर्दै आएकामा दुई वर्षअघिदेखि त्यसको साटो विद्यालयलाई एक÷एकवटा फूलसहितको गमला उपहार दिने शुरुवात गरेका छन् । जन्मदिनमा गरिने फजुल खर्च न्यूनीकरण तथा विद्यालयको सौन्दर्यकरणका लागि विद्यालयले ‘फूलसहितको गमला उपहार’ कार्यक्रम लागू गरेको हो ।
शिक्षक तथा विद्यार्थीले जन्मदिनमा दिएको उपहारले विद्यालयको बगैँचा तथा पेटीहरु फूलैफूलका गमलाले भरिएका छन् । समायोजनपछि जग्गा खरिद गरेर निर्माण गरिएको भवनमा सञ्चालित यस विद्यालयमा तीनजना स्थायी प्राथमिक र एकजना अस्थायी, सङ्घीय अनुदानमा एकजना निम्न माध्यमिक तह, गाउँपालिका अनुदान एकजना निमावि तथा निजी स्रोतबाट एकजना प्राथमिक तहका शिक्षक, एकजना कार्यालय सहयोगी र एकजना बाल विकास केन्द्र सहजकर्ता कार्यरत छन् ।



