राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई

Halesi Khabar

खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो ।

सात राउण्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यस्तै, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ ।

विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार तथा छैटौँदेखि दशौँसम्मका खेलाडीलाई जनही नगद रु चार÷चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित प्रतियोगितामा अनरेटेट, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिकाको सर्वोत्कृष्ट तथा नगर प्रथमसमेत चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

अनरेटेटतर्फ सर्वोत्कृष्टमा दाङका बेदु सारुमगर, भेट्रानतर्फ सर्वोत्कृष्ट सुनसरीका चुडामणि कुलुङ राई, खोटाङ प्रथममा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दयन्द्र राई, १६ वर्षमुनिकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सुयव सैँजू तथा दिक्तेल रुपाकोट मझुवागढी नगर प्रथममा पदमकुमार राई चयन हुनुभएको छ । अनरेटेट सारुमगर र भेट्रान चुडामणिले नगद रु तीन÷तीन हजार, खोटाङ प्रथम दयन्द्रले नगद रु पाँच हजार, १६ वर्षमुनिका सैँजू र नगर प्रथम राईले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विजयी खेलाडीहरुलाई बुद्धिचाल महासङ्घ नेपालका अध्यक्ष हेराकाजी मर्हजन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई, बुद्धिचाल महासङ्घका केन्द्रीय उपमहासचिव मोनालिसा खम्बू, प्रदेश अध्यक्ष सुरेन्द्रकुमार राई लगायतले पुस्कार वितरण गर्नुभएको छ । खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका उपाधि विजेता नेपाली पूर्वनेपाल च्याम्पियनसमेत हुनुहुन्छ ।

पाँच दिनदेखि जारी महोत्सवमा खुला पुरुष तथा खुला जुनियर महिला÷पुरुष टेबलटेनिस प्रतियोगितासमेत भइरहेको छ । खुला पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।

वैशाख–२७ गतेबाट शुरु भएको महोत्सवअन्तरगत पहिलो दिन आयोजना गरिएको खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सवको पहिलो दिन गत शनिबार सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनअन्तरगत महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जित्नुभएको हो ।

महोत्सव समापनको अवसरमा जेठ–४ गते साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । दिक्तेल बजारमा नौँ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु सहभागी भएपछि जिल्लाको माहोल तातिएको छ ।

तपाईको प्रतिक्रिया