दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने

Halesi Khabar

खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पु¥याउनका लागि ‘जैविक विविधता ः रेड पान्डा र थार–संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ दिक्तेल बजारमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि गत चैत–२५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाहको आधारमा सम्मेलन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद्र्धन गर्न, प्लाष्टिकको न्यून प्रयोगतर्फ सबैलाई अग्रसरता दिलाउन र विश्वभरी नगरपालिकालाई स्थापित गराउने उद्देश्यले बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न सबैको सहयोग आवश्यक छ । सरोकारवाला निकायबाट पूर्ण साथ, सहयोग र समर्थन रहने विश्वास लिएका छौँ । अन्तर्राष्ट्रिय सम्मेलनका लागि नगर कार्यपालिकाको अर्को बैठक बसेर जिम्मेवारी तोकिनेछ ।”

सगरमाथा संवादका लागि कोशी प्रदेशबाट एउटा मात्रै स्थानीय दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका छनोट भएको पनि सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । “देशभरिबाट छनोट भएका ११ वटा स्थानीय तहभित्र हाम्रो नगरपालिका पर्न सफल भएको छ । यो हाम्रो लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “नेपालमा पहिलो पटक ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ र ‘रेड पान्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न गरेका छौँ । यसले वन, वातावरण र पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा नगरपालिकाले गरेको योगदानलाई आधार मानेर सगरमाथा संवादका लागि छनोट गरेका हो ।”

सगरमाथा संवादको पूर्वसन्ध्यामा हुन गइरहेको लोमान्थाङ इन्टरनेशनल मिडिया समिट कार्यक्रममा नगरका प्रेस सल्लाहकार कृष्ण आचार्यलाई निमन्त्रणा गरिएकोमा पत्रकार आचार्य मिडिया समिट कार्यक्रममा जानुभएको जनाइएको छ । सन् २०२५ मे १६ देखि १८ सम्म बहुपक्षीय उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद मञ्च सगरमाथा संवादका लागि नगर कार्यपालिका बैठकले नगरप्रमुख भट्टराईलाई अख्तियारी दिएको छ ।

नगरपालिकाले यही वैशाख–१ र २ गते हुर्लुङमा आयोजना गरेको रेड पाण्डा तथा थार महोत्सवमा विभिन्न स्टलहरु तथा आसपासका पसलहरुमा करिब रु ३० लाख बराबरको आर्थिक कारोबार भएको पत्रकार सम्मेलनमा जनाइएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीयवासीसमेत उत्साहित भएका छन् ।

महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेड पाण्डा–थार रुट’को समेत शुभारम्भ गरिएको छ । किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको हो ।

‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को प्रवद्र्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । यो रुटको औपचारिक शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का सद्भावनादूत एवम् चर्चित अभिनेता दयाहाङ राईले गर्नुभएको हो ।

 

 

तपाईको प्रतिक्रिया