पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिन प्रेस सेन्टर नेपालकाे माग

Halesi Khabar

खाेटाङ, २८ वैशाख । प्रेस सेन्टर नेपाल खाेटाङले विभिन्न माग राख्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेसागत असुरक्षाका घटनाले प्रेस स्वतन्त्रताको अधिकार संकुचित भइरहेको जस्ता विषय समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेमार्फत सञ्चारमन्त्री गुरुङलाई बुझाइएको हो ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष सविना अछामेले हस्ताक्षर गर्नुभएकाे ज्ञापनपत्रमा पत्रकारको हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चारसँग सम्बन्धित कानुनहरु प्रेसमैत्री हुनुपर्ने, पत्रकारको पेसागत तथा भौतिक सुरक्षा हुनुपर्ने, आस्थाका आधारमा सरकारी सञ्चार संस्थाबाट पत्रकार हटाउन नहुने, सहिद र बेपत्ता पत्रकारको नाममा कोष स्थापना हुनुपर्ने, घाइते पत्रकारहरुको निःशुल्क उपचार हुनुपर्ने, सरकारी अस्पतालमा पत्रकारको उपचार गर्दा ५० प्रतिशत छुट हुनुपर्ने जस्ता मागहरु समेटिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रमअनुसार नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष अछामेले जानकारी दिनुभएकाे छ ।

प्रेस सेन्टरले गत चैतमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट जारी गरेको काठमाडौं घोषणापत्रसमेत सरकारलाई बुझाएको छ । प्रेस सेन्टरकाे ज्ञापनपत्र बुझ्नुहुँदै प्रजिअ घिमिरेले सम्बन्धित निकायमा पुर्याएर सहयाेग गर्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया