खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आज (वैशाख–२७ गते)देखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथनसहित दौड, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला÷पुरुष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खुला महिला÷पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीनवटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौ, छैटौ र सातौँ हुनेले क्रमशः रु ७७ हजार ७७७, रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु सात हजार ७७७ र रु पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा दश वर्षमूनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरुषका लागि दश किलोमिटर, ६० वर्षमाथि पुरुषका लागि दुई किलोमिटर, आमाहरुको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब ७०० धावकहरु जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।
दश वर्षमूनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुनेले रु तीन हजार, रु दुई हजार, रु एक हजार, बाह्र वर्षमूनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले रु चार हजार, रु तीन हजार र रु एक हजार ५००, ६० वर्षमाथिका पुरुषको दुई किलोमिटर र आमाहरुको पाँच किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु पाँच हजार ५००, रु तीन हजार ५०० र रु दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमूनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु सात हजार ५००, रु छ हजार ५०० र रु पाँच हजार ५०० को साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु दश हजार र रु सात हजार पुरस्कार पाउनेछन् । पन्ध्र वर्षमाथिका महिला÷पुरुष दश किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु दश हजार, रु सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।
खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धितय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनेछन् । उनीहरुका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुहुने आयोकजले जनाएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट शुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लाको माहोल तातिएको छ ।
नौँ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ ।


