खोटाङ, २६ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथन, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन भोलि (वैशाख–२७ गते) खुला महिला÷पुरुष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खुला महिला÷पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीनवटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौ, छैटौ र सातौँ हुनेले क्रमशः रु ७७ हजार ७७७, रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु सात हजार ७७७ र रु पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा दश वर्षमूनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, पन्ध्र वर्षमाथिका महिला÷पुरुषका लागि दश किलोमिटर, ६० वर्षमाथि पुरुषका लागि दुई किलोमिटर, आमाहरुको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सहभागी हुने करिब ७०० धावकहरु जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।
दश वर्षमूनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुनेले रु तीन हजार, रु दुई हजार, रु एक हजार, बाह्र वर्षमूनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले रु चार हजार, रु तीन हजार र रु एक हजार ५००, ६० वर्षमाथिका पुरुषको दुई किलोमिटर र आमाहरुको पाँच किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु पाँच हजार ५००, रु तीन हजार ५०० र रु दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमूनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु सात हजार ५००, रु छ हजार ५०० र रु पाँच हजार ५०० को साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु दश हजार र रु सात हजार पुरस्कार पाउनेछन् । पन्ध्र वर्षमाथिका महिला÷पुरुष दश किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु दश हजार, रु सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।
खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धितय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनेछन् । उनीहरुका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा कलाकारहरु जिल्ला आइसकेको आयोजकले जनाएको छ । महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ ।