बराहपोखरीमा ४१ वटा योजना सम्पन्न, कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च

Halesi Khabar

खोटाङ, २६ वैशाख । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएको पाइएको छ । गाउँपालिकाले वैशाख–२५ गते सार्वजनिक सुनुवाइ गर्दै सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ ।

गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार आर्थिक २०८१÷०८२ मा वडा नं.–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा आठवटा योजना सम्पन्न भइसकेको छ । यस्तै, वडा नं.–२ सुन्तलेमा दशवटा योजना सम्झौता गरिएकोमा आठवटा सम्पन्न, वडा नं.–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा सातवटा योजना सम्पन्न भएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा आठवटा, वडा नं.–५ पौवासेरामा आठयोजना सम्झौता गरिएकोमा चारवटा र वडा नं.–६ मौवाबोटेमा आठयोजना सम्झौता गरिएकोमा छवटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । बाँकी रहेका २६ वटा योजना पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँलृे जानकारी दिनुभएको छ । लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो ।

चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ । सङ्घीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ । सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु दश करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौँ करोड २० लाख ९५ हजार खर्च भएको छ ।

यस्तै, सशर्त आइडीश्रोततर्फ रु ४४ लाख ७६ हजारमध्ये रु ३३ लाख १३ हजार आम्दानी हुँदा रु १२ लाख ९९ हजार खर्च भएको छ । वैदेशिक श्रोत अनुदानर्फ रु ४३ लाखमध्ये रु ३२ लाख २५ हजार आम्दानी भएको र रु २४ लाख ३३ हजार खर्च भएको जनाइएको छ । यस्तै, एसएसबी अनुदानतर्फ रु ५७ लाखमध्ये ४२ लाख ७५ हजार आम्दानी हुँदा रु २२ लाख ६७ हजार खर्च भएको छ ।

 

नेपाल सरकार सशर्त अनुदान पुँजीगततर्फ रु १४ लाख ५२ हजारमध्ये रु सात लाख ३२ हजार आम्दानी हुँदा रु तीन लाख ८८ हजार, सङ्घीय सशर्त अनुदान आन्तरिक ऋणतर्फ रु एक करोड ४९ लाखमध्ये रु एक करोड २ लाख २५ हजार आम्दानी र रु २८ लाख ११ हजार खर्च भएको छ । यस्तै, सङ्घीय सरकार वैदेशिक अनुदान स्वीजरल्याण्ड एसडिसीतर्फ रु २२ लाखमध्ये रु ११ लाख आम्दानी र रु सात लाख ८६ हजार खर्च, समपुरक अनुदानतर्फ रु एक करोड ५० लाखमध्ये रु एक करोड १२ लाख ५० हजार आम्दानी हुँदा सबै खर्च भएको छ ।

प्रदेश सरकारको समानीकरणतर्फ रु ४४ लाख ५४ हजारमध्ये रु ३३ लाख ४० हजार आम्दानी हुँदा रु २६ लाख ९१ हजार, सशर्त अनुदानतर्फ रु ३२ लाख ३२ हजारमध्ये रु २२ लाख २४ हजार आम्दानी हुँदा रु दश लाख ३६ हजार, सशर्ततर्फ रु एक करोड ११ लाख ४१ हजारमध्ये रु ४९ लाख ८० हजार आम्दानी भएको र रु ३२ लाख ८५ हजार खर्च भएको छ । यस्तै, प्रदेश समपुरकतर्फ रु ९४ लाखमध्ये रु ७० लाख ५० हजार आम्दानी भएको र सबै खर्च भएको जनायएको छ ।

सङ्घीय राजस्व बाँडफाँडतर्फ रु सात करोड ८६ लाखमध्ये रु चार करोड ८३ लाख ५४ हजार आम्दानी हुँदा रु चार करोड ४६ लाख ५५ हजार खर्च भएको छ । यस्तै, प्रदेश राजस्व बाँडफाँडतर्फ रु ३१ लाख ९३ हजारमध्ये रु २१ लाख १२ हजार आम्दानी हुँदा रु १८ लाख ५८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा ईश्वर बञ्जरा, कौशल श्रेष्ठ, राजेश बञ्जरा, नन्दिकिशोर बञ्जरा, निश्चल खड्का, मिना फुयाल, सुवासचन्द्र राई, खेमराज मगर, रुद्र विष्ट, फणिराज तिम्सिना, बिर्सिका राई, दिनेश तामाङ, सागर किराती, बद्री राउत, कविराज खड्का, भूबल राई, विनोद बुढाथोकी, दीर्घ मगर, जानुक विश्वकर्मा, शिवकुमार श्रेष्ठ, अगम परियार, रामधन विश्वकर्मा र गणेश विश्वकर्माले गाउँपालिकाबाट सम्पादित योजनामाथि प्रश्न उठाउनुभएको थियो । प्रश्नकर्ताहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रमहरु जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिएका छन् ।

जवाफदेही वक्ताका रुपमा गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी लगायतले प्रश्नकर्ताको जवाफ दिनुभएको थियो । जवाफदेही वक्ताहरुले आफूहरुको ध्यान पारदर्शीरुपमा जनताको सेवामा समर्पित रहेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया