खोटाङ, २५ वैशाख । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईविरुद्ध आज (बिहीबार) गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
नागरिक भेटघाट कार्यक्रम लिएर गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफै टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिनुभएको छ ।
कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिनुभएको छ । मन्त्री राईसँग आक्रोशित कार्यकर्ताहरुले आफूहरुको अगाडि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता हुनुपर्नेभन्दै नाराबाजी गरिरहेका छन् ।
मन्त्री राईलाई गाउँपालिका प्रमुख राईले आफ्नो कार्यालयमा कार्यक्रम गर्न नदिएपछि वडा नं.–३ खिदिमास्थित ढाँडेमा उक्त कार्यक्रम सारिएको जनाइएको छ । आफ्नै कार्यकर्ताले कार्यक्रम अवरोध गर्ने जानकारी पाएपछि मन्त्री राई सुरक्षाकर्मीको ठूलो सङ्ख्यासहित कार्यक्रमस्थल खिदिमा पुग्नुभएको थियो ।
मन्त्री राईले साकेला गाउँपालिकामा परेको योजनाहरु कटाएको तथा नयाँ योजना कुनै पनि नदिएको कार्यकर्ताहरुले आरोप लगाएका छन् । साकेला गाउँपालिका प्रमुख राईसमेत काँग्रेसबाटै निर्वाचित हुनुभएको हो ।