खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिेरे (बुधाथोकी), सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा वुद्धिकुमार राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाईसिल नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।
वाईसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने, खाली राखिएको जनाइएको छ । खाली राखिएको पदमा जन्तेढुङ्गा गाउँपालिकाका वाईसिएल प्रतिनिधिबाट पदपूर्ति गरिने नवनिर्वाचित जिल्ला अध्यक्ष किरातीले जानकारी दिनुभएको छ ।
वाईसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिको सदस्यहरु जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधिहरु समेटेर चयन गरिएको जनाइएको छ । वाईसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठक भोलि (बिहीबार) बिहान दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठूलकुमार स्मृति भवन दिक्तेलमा बस्ने जिल्ला अध्यक्ष किरातीले जानकारी दिनुभएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित जिल्ला सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व सांसद् टङ्क राईले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य एवम् वाईसिएल खोटाङका फ्रयाक्सन इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता राईले देश बनाउने जिम्मा वाईसिएल नेपालको काँधमा आएको बताउनुभएको छ । “वाईसिएल नेपाल माओवादी केन्द्रको प्रमुख भातृ संस्था हो । देशलाई कता लैजाने हो त्यो जिम्मा युवाको हातमा छ । देश बचाउने जिम्मा माओवादी केन्द्रले मात्र लिन सक्छ”, नेता राईले भन्नुभयो, “वाईसिएल नेपालले देश र जनताको भलाइ हुने किसिमको गतिविधि गर्नुपर्छ । अन्यथा देश बर्बादीतर्फ जान्छ । यसतर्फ सचेत हुन आवश्यक छ ।”
वाईसिएल खोटाङका निवर्तमान अध्यक्ष किसान राई ‘दोबालिछा’को अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राई, युवा सङ्घ नेपाल खोटाङका सचिव सविन राई ‘विज्ञान’ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलन उद्घाटनअघि दिक्तेल बजारमा नारा÷जुलुससहित मोटरसाइकल ¥याली निकालिएको थियो ।